भोजपुर : स्थानीय प्रशासनले भोजपुरमा आइतबार एउटा राम्रो काम गरेको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलसहितको टोलीले अपांगता भएकी महिलालाई उनकै घरमा गएर नागरिकता प्रदान गरेको छ ।
सदरमुकामबाट पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका ३ की हिँडडुल गर्न समस्या भएकी ५९ वर्षीया लक्ष्मीदेवी घिमिरेलाई प्रमुख जिल्ला अधिकारी पौडेलले प्रतिलिपी नागरिकता प्रदान गरेकी हुन् । प्रमुख जिल्ला अधिकारीसँगै सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने पनि लक्ष्मीको घर पुगेका थिए ।
हिँडडुल गर्न समस्या भएकी घिमिरे आफूलाई नागरिकता दिन सिडिओ र सहायक सिडिओ आफै घरमा पुगेपछि हर्षित बनेकी थिइन् । घरैमा नागरिकता पुगेपछि खुसी हुँदै लक्ष्मीले भनिन्, ‘नागरिकता बनाउन जिल्ला जान सकेकी थिइनँ, घरैमा आएर नागरिकता दिनु भो । धेरै खुसी छु ।’ आफूले नागरिकता पाएपछि सरकारबाट पाउने अन्य सुविधा लिन सहज हुने लक्ष्मीको बुझाइ छ ।
हिँडडुल गर्न समस्या भएकी लक्ष्मीलाई जिल्ला प्रशासन कार्यालयसम्म आएर नागरिकता लिन समस्या भएकाले घरमै पुगेर नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । २०४४ सालमा नागरिकता बनाएकी घिमिरेले घर सर्ने क्रममा पहिलाको नागरिकता हराएकी थिइन् । उनले भनिन्, ‘अपांग भएका कारण अर्को नागरिकता लिन जान सकेकी थिइनँ ।’
दाउराले टाउकोमा लागेपछि लक्ष्मीलाई विस्तारै दुखाइ खेप्न नसकेपछि उपचारका लागि काठमाडौँ लगिएको थियो । काठमाडौँमा उनको उपचार हुन नसकेपछि अप्रेशनका लागि बैंगलोर लगिएको परिवारले बताएको छ । उनी पूर्ण रुपमा हिँडडुल गर्न नसकेको पाँच वर्ष भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५