काठमाडौं : एनसीएल स्पोर्ट्स प्रालिद्वारा विराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी वैशाख ७ गतेदेखि ‘महिला टी–२० लिग’ को अक्सन आइतबार काठमाडौंमा सकिएको छ ।
यस प्रतियोगितामा अभिनेत्री रेखा थापाको टीमले समेत भाग लिएको छ । नेपालमा कलाकारले किनेको टीम यो पहिलो हो । हलिउड, बलिउडमा भने यसको प्रयोग भइसकेको छ । आइतबार सम्पन्न अक्सनमा दर्ता भएका कुल ८० खेलाडीमध्ये हरेक टिमले १३÷१३ जना खेलाडी खरिद गरेका छन् ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सीता रानामगर, नेरी थापा, करुणा भण्डारी चार अलगअलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएका थिए । काठमाडौं सुपर च्याम्पियन्स टीम किनेकी अभिनेत्री रेखा थापा उत्साहित छिन् । आफ्नो टीमले जित्नेमा रेखा विश्वस्त छिन् ।
अन्य टीमका खेलाडी पनि कम नभएको विश्लेषकहरू बताउँछन् । क्रिकेट लिगमा चार शहरका चार फ्रेन्चाइज्ड टोलीको सहभागिता रहने छ । सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रेअरिङ लायोनेस), अनिल भण्डारी (भैरहवा क्विन्स), विमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) छन् ।
प्रतियोगिता खेल्न दर्ता भएका खेलाडीलाई ग्रेड ए, बी र सी गरी तीन तहमा विभाजन गरिएको थियो । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्यूनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ तथा बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २५ हजार र अधिकतम मूल्य ५० हजार रुपैयाँ हुने जनाइएको छ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य १५ हजार र अधिकतम मूल्य २५ हजार रुपैयाँ रहने छ ।
अक्सन डिटेल्स चार्टमा हेर्न सकिने छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५