एजेन्सी : पाकिस्तानको पञ्जाब प्रान्तका एक व्यक्ति विगत २५ वर्षदेखि घाँसमात्रै खाएर स्वस्थ जीवन बाँचिरहेका छन् । पञ्जाबको गुजरनवाला जिल्लाका ५० वर्षीय महमुद बटले २५ वर्षको उमेरदेखि घाँस खान सुरु गरेका थिए । उनी अहिले ५० वर्षका भए ।

घाँस र कलिलो काठमात्रै खाइरहेका उनी अहिलेसम्म कुनै पनि बिरामी परेका छैनन् । स्वस्थ रहन या रहरले भने उनले घाँस खान सुरु गरेका थिएनन् । उनीसँग काम थिएन र खानलाई खाना पनि थिएन । आफ्नो बाध्यताका बीच जीवन धान्ने उपाय स्वरुप उनले घाँस खान सुरु गरेका थिए । आफूले किन घाँस खान सुरु गरेँ भन्नेबारे उनी भन्छन्, ‘मेरो परिवार अति गरिब थियो । सबै कुरा हाम्रो परिवारका लागि अभाव थियो र एकछाक खाना पाउने कुरा पनि हामीलाई असम्भव जस्तै थियो । त्यसैले सडकमा बसेर भीख माग्नुभन्दा घाँस खान उपयुक्त सम्झेर मैले घास खान थालेँ ।’

बटका लागि घाँस खाने कुरा अब जीवन जिउने माध्यम मात्रै होइन, बानी नै भइसकेको छ । वर्षौंपछि जब उनी काम गर्न थाले र आफ्ना लागि खाना प्राप्त गर्न सक्ने अवस्थामा पुगे, तब उनले खाना खान खोजे । त्यतिबेला उनलाई खाना होइन त्यही घाँस मन पर्न थाल्यो । बट भन्छन्, ‘मलाई त्यतिबेला आश्चर्य लाग्यो, जब मेरो बानी नै अर्कै भइसकेको रहेछ कि मलाई खाना होइन घाँस नै मन पर्न थालिसकेको रहेछ ।’ उनी यातायातको साधनका रूपमा गधागाडा गुडाउने काम गरेर दैनिक छ सय रुपैयाँसम्म कमाउँछन् ।

यसरी हेर्दा उनी लगभग दिनभर जसो व्यस्त हुन्छन् । तर अहिलेसम्म कुनै पनि रोग लागेर अस्पताल गएका छैनन् । उनी सधैँ कलिला घाँस र डाँठको खोजीमा हुन्छन् । गधागाडा कुदाइरहेका बेला रोडको छेउमा कलिला घाँस देखे गाडा रोक्दै घाँस खान थालिहाल्छन् ।

उनका अनुसार बन्यान, ताली र चेनको घाँस उनलाई निकै मन पर्छ । आजभोलि त बट उनको घाँस खाने बानीकै कारण आफ्नो क्षेत्रभरि चर्चित भइसकेका छन् । जीवविज्ञानलाई समेत आश्चर्यमा पार्ने यस्तो घटनाबाट चिकित्सकहरू समेत चकित छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५