वि.सं. १९७२ मा लमजुङमा जन्मिएकी महेश्वरी त्रिपाठी उमेरले १०३ वर्ष पुगिन् । औसत आयु ७० वर्ष भएको देशमा शताब्दी उमेर नाघ्नु भाग्यको कुरा हो । तीन अंकको आयु बाँच्ने भाग्यमानी नेपालीहरूमध्येमै पर्ने त्रिपाठी भौतिक शरीर कमजोर बन्दै गए पनि मानसिक रूपमा ठिकठाक छन् । मान्छेसँग गफ गर्न, अलिक परसम्मका दृश्य हेर्न समस्या छैन ।
बुढ्यौलीको असर बाहिर शारीरिक रूपमा त छ नै तर उनको आत्मबल अझै अझै बूढो मान्न तयार छैन । लमजुङको सम्पन्न परिवारमा बुहारी बनेर पुगेकी त्रिपाठीले पाँच पुस्ता देखिसकेकी छन् । आफ्नो जीवनकालमा यति धेरै पुस्ता देख्न पाउने भाग्य कमै नेपालीको हुन्छ । नातिदेखि खनातिसम्म उनका ७८ जना सन्तान छन् । हाल उनी काठमाडौंको रातोपुलमा माइली छोरी सावित्रीदेवी पाण्डेसँग बस्दै आएकी छन् ।
पाँच पुस्ता, ७८ सन्तान
महेश्वरी त्रिपाठी लमजुङमा एक सम्पन्न परिवारकी सदस्य हुन् । उनका श्रीमान् रोहिणीराज त्रिपाठी नेपाली कांग्रेसका नेता थिए । २०१३ सालमा पूर्वी लमजुङका सभापति रहेका उनी पाँच वर्ष जेल परे । त्यतिबेला महेश्वरीले निकै असहजता भोगिन् । श्रीमान् जेलमा पर्दा पनि उनले पारिवारिक जिम्मेवारीसँगै घरमा आउने कांग्रेस नेता, कार्यकर्तालाई सहयोग गरिरहिन् ।
खाना पकाएर खुवाउने र उनीहरूलाई सहयोग गर्नु महेश्वरीको दिनचर्या नै थियो । घुर्मैलो सम्झना अझै छ उनीसँग त्यसताकाको । ‘गणेशमान सिंह र किसुनजी (कृष्णप्रसाद भट्टराई) घरमै आउनुभएको थियो’, उनले पुरानो दिन सम्झिइन्, ‘मैले पकाएको खाना मीठो मानेर खानुभयो ।’ पति रोहिणीराजले पार्टीको काममा लमजुङको जग्गा जमिन सके । सम्पन्न परिवार एकाएक कमजोर आर्थिक अवस्थामा पुग्यो तर पनि उनले कुनै दिन गुनासो नगरेको सुनाइन् ।
रोहिणीराज सामाजिक काममा लागिहाल्ने, स्कुल स्थापना, सडक निर्माण,गाउँलेका सुखदु:खमा सहयोग गरिहाल्ने । त्यसैले लोकप्रिय थिए उनी पूर्वी लमजुङमा । पुरानो दिन सम्झँदै उनले आफ्ना पतिबारे यसरी सुनाइरहँदा केही भावुक बनिन् । कांग्रेस प्रतिबन्धित नै थियो ०४४ सालमा, जब उनले पति रोहणीराजलाई गुमाइन् । पशुपति आर्यघाटमा भएको अन्त्येष्टिमा गणेशमान सिंह र किसुनजी कांग्रेसको झण्डा ओढाउन आइपुगेको स्मृति ताजै रहेको उनले सुनाइन् ।
१०३ वर्षीया आमाको स्मरण
प्रजातान्त्रिक आन्दोलनमा लागेका आफ्ना पतिलाई सधैँ सहयोग गरेकी महेश्वरीसँग कांग्रेस नेताहरूसँग अनेकन सम्झनाहरू छन् । त्यसमध्ये उनले सम्झना गरिन् नेता गणेशमान सिंह, किसुनजी र रामशरण महतको । पछि काठमाडौं आएपछि गणेशमान सिंह उनी बस्ने रातोपुल घरमा आफ्नै गाडीमा पटक पटक छोड्न आएको बिर्सेकी छैनन् उनले ।
गणेशमान सिंह र किसुनजीले उनका पतिले संगठनमा गरेको कामबाट प्रभावित भएको उनले बताइन् । ‘त्यसैले मलाई पनि उहाँहरू सम्मान गर्नुहुन्थ्यो । गणेशमानजी त घरमै पुर्याउन आउनुहुन्थ्यो’, पुराना दिनमा फर्किइन् महेश्वरी, ‘पैसा छैन, दिन मन त थियो भन्दै गणेशमानजीले हजार रुपैयाँ झिकेर दिनुहुन्थ्यो ।’
त्यस्तै, किसुनजीसँगका पनि उनका अनेकन सम्झना छन् । कांग्रेसका लागि लागेकाहरूका परिवारलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो किसुनजी । प्रजातन्त्र आइसकेपछि राजनीति पीडित परिवारलाई दिइने सुविधा महेश्वरीलाई पनि दिन चाहन्थे किसुनजी । उनले पहल पनि गरे तर सफल नभएपछि उनी आफैँले २० हजार रुपैयाँ आफ्नै गोजीबाट झिकेर दिएको सम्झना सय वर्ष कटिसक्दा पनि महेश्वरीको मस्तिष्कमा ताजै भेटियो ।
त्यो पैसा के गर्नुभयो त ? उनले सुनाइन्, ‘त्यो पैसाले लमजुङ गाउँमै सप्ताह लगाएँ ।’ डा. रामशरण महत लमजुङमा शिक्षक भएर पुगे । महतलाई शिक्षकका रूपमा लमजुङ मात्र पुर्याएनन्, उनलाई बस्ने व्यवस्थासमेत आफ्नै घरमा गरिदिए । डा. महतले भक्ति नमुना माध्यमिक विद्यालयमा केही समय पढाए ।
गणेशमान सिंह, किसुनजी रहुन्जेल खोजखबर गर्नेगरी पनि अहिलेका नेताहरूले बिर्सेकामा भने उनको चित्त दुखाइ रहेछ । ‘कांग्रेस कार्यकर्ता भोकाए भनेर रातभरि खाना पकाएर खुवाउनुभयो । पार्टीका लागि सबै सम्पत्ति नै सकिँदा पनि केही गुनासो गर्नुभएन आमाले’, अहिले आमालाई सँगै राखेर हेरचाह गरिरहेकी माइली छोरी सावित्रीदेवी पाण्डेले भनिन्, ‘अहिले पार्टीले वास्ता गरेन भनेर आमा गुनासो गर्नुहुन्छ ।’
स्मरण शक्ति घट्दो
सात छोरा र पाँच छोरी गरी १२ जनालाई जन्म दिइन् महेश्वरीले, जसमध्ये चार जना छोरा गुमाइसकेकी छन् । एउटा छोराको भने अत्तोपत्तो छैन । रमाविलास नाम गरेका ती छोरा सुवर्णशमशेर राणासँग भारतमै बसेका रहेछन् । तर उनी उतै बेपत्ता छन् । महेश्वरीका आफू तलका दुई जना बहिनी पनि बितिसकेका छन् । प्रेसरको औषधि खाइरहेकी उनको बढ्दो उमेरसँगै स्मृति शक्ति भने घट्दै गएको छोरी सावित्रीले बताइन् ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५