भोजपुर : जिल्ला प्रशासन कार्यालय भोजपुरले गाउँमै पुगेर नागरिकता वितरण गर्ने उद्देश्यले दक्षिणी आमचोक गाउँपालिकामा दुई दिने शिविर सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईसहितको टोलीले आमचोक गाउँपालिकाको केन्द्र बालंखामा नागरिकता वितरण गर्ने छ । शिविरमा फोटोसहितको मतदाता नामावली समेत संकलन हुने छ । शिविरमा बिहानदेखि नै नागरिकता बनाउन आउन सुरु गरेको जिल्ला प्रशासन कार्यालयबाट शिविरमा गएका नायव सुब्वा राजन कार्कीले बताए ।
जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजना तथा आमचोक गाउँपालिकाको सहयोगमा सञ्चालन भएको शिविरमा गाउँपालिकाभित्रका १० वडा र हतुवागढी गाउँपालिकाका नागरिकता लिन छुटेकाहरूले नयाँ नागरिकता र प्रतिलिपी बनाउने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । नागरिकता बनाउन दक्षिण क्षेत्रबाट सदरमुकामसम्म आउन समस्या हुने भएकाले गाउँमै गएर नागरिकता वितरण गर्ने निर्णय गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।
आमचोक गाउँपालिकाको कार्यालय बालंखामा सञ्चालन हुने शिविर सोमबार सकिने वडा नम्बर ४ बालंखाका वडाध्यक्ष नेत्रबहादुर खत्रीले जनाए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५