नेपाल हिमालको देश हो । नेपालको उत्तरी क्षेत्र पूरै हिमशृंखलाले ओगटेको छ । यस क्षेत्रमा भएका कति हिमालहरूको आरोहण भएको छ भनेर सबैको चासो विषय हुन सक्छ । तराई, पहाड, उपत्यका, डाँडाजस्ता धेरै ठाउँबाट विभिन्न कोणमा उत्तरका हिमशृंखला देखिन्छन् । आरोहण गर्न नपाउनेले पनि अवलोकन गर्न पाएका छन् ।
हामी हिमालले महत्त्वपूर्ण भू–भाग ओगटेको देशको नागरिक भएर पनि धेरैले नजिकबाट हिमालको अवलोकन गर्न पाएका छैनन् । नेपालमा चार सय १४ वटाभन्दा बढी हिमाल छन् । आरोहण हुन नसकेका हिमाल तथा पिकहरू ८६ वटा छन् । हालसम्म आठ हजार मिटरमाथिका नौ वटा हिमाल आरोहणकोे तथ्याङ्क यस्तो छ ।
सगरमाथा
सगरमाथाको पहिलो सफल आरोहण सन् १९५३ मा भएको हो । न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पाइला शिखरमा राखेका हुन् । हालसम्म ५,३०४ जनाले सगरमाथाको शिखर चुमेका छन् ।
कञ्चनजंघा
कञ्चनजंघा नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो शिखर हो । कञ्चनजंघा हिमालको युकेका गेअर्गी क्रिस्तोफर ब्यान्डले पहिलो शिखर चुमेका हुन् । उनले सन् १९५५ मा पहिलो पटक सफल आरोहण गरेका हुन् । नेपाली पहिलो आरोही आङ फुर्वा शेर्पा हुन् । हालसम्म कञ्चनजंघा ३४४ जनाले आरोहण गरिसकेका छन् ।
ल्होत्से
ल्होत्से हिमालको उचाइ ८,५१६ मिटर छ । लोत्से हिमालको पहिलो आरोहण स्विजरल्याण्डका इन्र्स रेइसले गरेका हुन् । उनले सन् १९५६ मा पहिलो पटक शिखर चुमेका हुन् । पहिलो नेपाली आरोही उर्केन छिरिङ शेर्पा हुन् । ६३२ जनाले हालसम्म ल्होत्सेको सफल आरोहण गरिसकेका छन् ।
यालुङ काङ
यालुङ काङ हिमाल समुद्र सतहदेखि ८,५०५ मिटर उचाइमा छ । पहिलो आरोही जापानी नागरिक युटका एजेटा हुन् । उनले सन् १९७३ मा यालुङ काङको शिखर चुमेका हुन् । नेपाली पहिलो आरोही आङदावा शेर्पा हुन् । हालसम्म ५३ जनाले यस हिमालको आरोहण गरेका छन् ।
मकालु
महालु हिमाल समुद्र सतहदेखि ८,४६३ मिटर उचाइमा छ । पहिलो आरोही फ्रान्सका जिन कौजी हुन् । उनले सन् १९५५ मा शिखर चुमेका हुन् । नेपाली पहिलो आरोही आङ चेपाल शेर्पा हुन् । हालसम्म ४९९ जनाले यस हिमालको आरोहण गरेका छन् ।
चोयु
यस हिमालको उचाइ ८,२०१ मिटर छ । चोलु हिमालको पहिलो आरोहण पोल्यान्डका मसेइज बरबेकाले गरेका हुन् । उनले सन् १९८४ मा पहिलोपटक शिखर चुमेका हुन् । पहिलो नेपाली आरोही आङ फुरी शेर्पा हुन् । हालसम्म चोयुको १४ जनाले सफल आरोहण गरिसकेका छन् ।
धौलागिरी
धौलागिरी विश्वको साताँै अग्लो हिमाल हो । यसको उचाइ ८,१६७ मिटर अग्लो छ । यस हिमालको पहिलो आरोही अर्नेस्ट फोरर हुन् । उनी स्विजरल्यान्डका नागरिक हुन् । उनले सन् १९६० मा शिखर चुमेका हुन् । धौलागिरी आरोहण गर्ने पहिलो नेपाली नवाङ दोर्जे शेर्पा हुन् । हालसम्म ५३७ जनाले धौलागिरीको सफल आरोहण गरिसकेका छन् ।
मनास्लु
मनास्लु हिमालको उचाइ ८,१६३ मिटर छ । मनास्लु हिमालको पहिलो आरोहण जापानका तोसिओ ईमानिसीले गरेका हुन् । उनले सन् १९५६ मा पहिलो पटक शिखर चुमेका हुन् । पहिलो नेपाली आरोही उर्केन छिरिङ शेर्पा हुन् । हालसम्म मनास्लुको १६२२ जनाले सफल आरोहण गरिसकेका छन् ।
अन्नपूर्ण
अन्नपूर्ण हिमाल ८,०९१ मिटर अग्लो छ । अन्नपूर्ण हिमालको पहिलो आरोहण फ्रान्सका मउरिच हर्जगले गरेका हुन् । उनले सन् १९५० मा पहिलो पटक शिखर चुमेका हुन् । पहिलो नेपाली आरोही सोनाम वोलङ शेर्पा हुन् । हालसम्म अन्नपूर्णको २७३ जनाले सफल आरोहण गरिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५