भोजपुर : भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन्, यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि ! कुन पसलमा पाइन्छ ? हो पूर्वको दुर्गम पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत चर्चित छ ।
अहिले भोजपुरे खुकुरीको माग बढ्दै जान थालेको छ । भोजपुरे खुकरीको माग स्थानीय बजारमा मात्र नभएर बाहिरबाट समेत हुने गरेको छ । तर दुर्भाग्य माग बढेअनुसार दक्ष कालिगढको भने अभाव देखिएको व्यवसायी बताउँछन् । उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगढको अभावले समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘भोजपुरमा बनेका खुकुरी स्थानीय बजारमा मात्र होइन, भोजपुरबाहिरका जिल्ला साथै विदेशमा समेत माग छ । तर खुकुरी बनाउने कालिगढ भने जिल्लामा कमै मात्र छन् ।’ उर्मिला आरन उद्योगले केही कालिगढलाई काम समेत दिएको छ ।
सदरमुकाममा खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश बिक भन्छन्, ‘हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात जिल्ला मानिन्छ, तर माग अनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।’ खुकुरी उद्योगबाट केही कालिगढले रोजगारी समेत पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरूपाते, चित्लाङे, कोथीमोडा लगायतका खुकुरी उत्पादन हुने गरेको छ ।
उद्योगबाट उत्पादन भएको खुकरी हाल स्थानीय बजारका अलावा खोटाङ, संखुवासभा, धनकुटा, धरान विराटनगर, काठमाडौं हुदै मुलुकबाहिर समेत जाने गरेको व्यवसायीहरू बताउँछन् । भोजपुरमा हुने हरेक कर्मचारीको स्वागत र बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिएको छ ।
उद्योग वाणिज्य संघ भोजपुरकी कार्यालय सचिव मीना कार्की भन्छिन्, ‘भोजपुरमा आउने र जानेहरूलाई उद्योग वाणिज्य संघले पनि खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने गरेको छ ।’ उनले भनिन, ‘भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी ।’ विगतमा द्वन्द्वको समयमा बन्द भएको भोजपुरका खुकुरी उद्योग मुलुकमा आएको शान्ति प्रक्रियासँगै पुन सुरु भएको थियो ।
भोजपुरमा दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावा लगायतका ठाउँबाट समेत खुकुरी बिक्रीका लागि आउने गरेको व्यवसायीहरू बताउँछन् । भोजपुरमा बुदुना, बाँसपाते, सिरूपाते लगायतका खुकुरीहरू बन्ने गरेको भए पनि बुदुना बढी मात्रामा बिक्री हुने गरेको छ ।
२०४७ सालदेखि नै खुकुरी व्यवसाय गर्दै आएको बताउने उर्मिला आरन उद्योगका संचालक श्रेष्ठले आफूसँग बिक्रीका लागि चार सयदेखि साढे ८ हजार रुपयाँसम्मको खुकुरी रहेको बताए । जिल्लाकै ख्यातिसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरूका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यावसायीकरणमा ढाल्न सहयोग गर्नुपर्ने अर्का सञ्चालक श्रेष्ठको भनाइ छ ।
भोजपुरमा १९६५ सालदेखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास पाइन्छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको बताइन्छ । विश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले एक हजार बक्सिस स्वरूप दिएको र सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीहरू बताउँछन् ।
सजावटका लागि समेत भोजपुरमा बन्ने खुकुरीहरू नेपालका साथै बाहिरी मुलुकहरू बेलायत, अमेरिका, फ्रान्स लगायतका मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि भोजपुरमा कालिगढको अभाव हुँदै जान थालेको हो ।
खुकुरी बनाउन आवश्यक पर्ने कोइला र काठका कारण पनि खुकुरी व्यवसाय माग अनुसार फस्टाउन नसकेको व्यवसायीहरू गुनासो गर्छन । खुकुरी व्यवसाय सञ्चालनका लागि सरकारी निकायहरूबाट पनि आवश्यक कच्चा पदार्थ, कोइला, काठमा सहजता ल्याइदिनुपर्ने माग खुकुरी व्यवसायीहरूको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५