कास्की आफ्नो सधैँको व्यस्त दैनिकीबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ आज पोखरा रङ्गशालामा उपस्थित भए । उनी रङ्गशालामा कुनै खेलकूद प्रतियोगिताको उद्घाटन, शिलान्यास तथा भाषणका लागि पुगेको होइन ।
मन्त्री गुरुङको रङ्गशाला जाने सन्दर्भ थियो, प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड पोखराले आयोजना गरेको खेलकूद पत्रकार मञ्च गण्डकी र बोर्डबीचको मैत्रीपूर्ण क्रिकेट खेल । जुन खेलको संयोजन गरेको थियो, कास्की जिल्ला क्रिकेट सङ्घले ।
सो अवसरमा मन्त्री गुरुङले बोर्डका तर्फबाट प्रतिनिधित्व गर्दै हातमा क्रिकेट ब्याट बोकेर मैदान प्रवेश गरे । ओपनरका रुपमा मैदानमा प्रवेश गर्नुभएका उनले चार बलको सामना गर्दै टोलीका लागि दुई रन बनाए । मन क्षेत्रीको बलमा धरापमा पर्दै पेभिलिएन फर्के । मन्त्री गुरुङले खेलकूदलाई महत्व दिएर मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेपछि त्यहाँ उपस्थित भएका खेलप्रेमी तथा सञ्चारकर्मी उत्साहित भएका थिए ।
मैदानको अवलोकन गर्दै मन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माणका लागि जमीन खोजिरहेको बताउँदै खेलकूदको विकासमा कुनै पनि कसर बाँकी नराखिने प्रतिबद्धता जनाए ।
-रासस
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५