दाह्रीभाईको चिया पसलमा चिया किन्दा चियाको प्रकार अनुसार १५/२० रुपैयाँ खर्च हुन्छ । उनकोमा बजुरेली मसला, साधारण, मसला, कालो मसला र कालो सादा चिया गरि पाँच प्रकारका छन् । तर दाह्रीभाईले निःशुल्क उत्प्रेरणा र सुझाव दिने गरेका छन् । मौसम प्रतिकुल भयो भने आफ्नो स्वास्थ्यको ख्याल गर्नु, पानीमा नभिज्नु, घामबाट जोगिनु, माक्स लगाउनु, पानी खानु आदी ईत्यादी ।
यस्तै सरकारप्रति सबैको गाली गर्नेहरुलाई ईगिंत गर्दै उनी भन्छन्–‘काठमाडौंमा धुलो उड्यो भने सरकालाई गाली गर्छन । तर आफु भने जहाँ पायो त्यहि फोहोर फ्याँक्दै हिड्छ । सरकारलाई गाली गर्ने दिमाग पहिला सफा गरे हुन्छ । आफुले आफ्नो वरिपरि पानी छर्काउने हो कसैलाई गाली गर्नुपर्दैन । आफ्नो वरपरको धुलो नै हावाको माध्यमबाट लिने हो ।’ उनले सरकारलाई गाली गर्नेले कति काम गरेका छन् भनेर प्रश्न सोध्न मन लागेको बताए । उनको बुझाईमा आफुले केही गरेर मात्र अरुलाई गाली गर्न सुहाउँछ ।
उनको उत्प्रेणाका विषयहरु धेरै छन् । जीवनमा केही गरौं भन्ने बनाउछन् । उनी प्रायः जीवनशैली, स्वास्थ्य, दैनिकी, परिश्रमसम्बन्धी बढि उत्प्रेणा दिने गर्छ । उनले चिनेजानेलाई मात्र नभई चियाको पैसा लिनेबेला सबैलाई दिने गरेको बताए । मानिसको मुड, मौसम र समय अनुसार उत्प्रेणा र सुझाव दिने गरेका बताए ।
उनले ईन्जिनियरीङ क्षेत्रमा स्नातक तहसम्मका अध्ययन गरेको बताए–‘ईन्जिनियरीङमा जागिर नपाएर यहाँ आएको होईन । मेरो ईच्छा अनुसारको काम गरेको हुँ । आफ्नो ईच्छानुसार काम गरेको बताउने उनी थप्छन्–‘हामी आमाबुबाको सपनामा कुद्ने गर्छाै । आफ्नो सपना पुरा गरौं ।’ आमाबुबाको सपना ईन्जिनियर बनाउने भएपनि आफु चिया पसले भएको बताए ।
दारीभाईको खास परिचय भने राजेश रेग्मी हो । उनको घर बाजुरा हो । उनी घरको चौथो सन्तान तथा दाजुभाईको जेठो छोरो हुन् । काठमाडौं महानगरपालिका ३४ कारेश्वरमा उनको चिया पसल छ । उनलाई दारीभाई–दारीभाई भनेर बोलाउने गरेकोले त्यहि परिचलाई आफ्नो व्यवशायको परिचय स्थापित गरेको बताए । उनले व्यवशाय सुरु गरेको ४ महिना भएको छ । उनले दैनिक एक सय कप चिया बेच्ने सपना बनाएको भएपनि अहिले २५०/३०० कप चिया बेच्ने गरेको बताए । निकट भविष्यमा शाखा विस्तार गर्ने तयारीमा समेत रहेकाे उनले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५