२०५८ साल चैत अन्तिम साताको कुरा हो। जतिबेला म कान्तिपुर दैनिकको खोटाङ जिल्ला संवाददाता थिएँ। माओवादी सशस्त्र द्वन्द्वबाट ग्रसित जिल्लामध्ये एक थियो– खोटाङ। कान्तिपुर दैनिकको रिपोर्टर भएका कारण म हरेक सूचनाको नजिक हुन्थेँ।
चैत महिनाको त्यो दिन रतन्छा क्षेत्रमा सेनाको गस्ती टोली गएको सूचना आयो। रतन्छा र च्यानडाँडा जोड्ने खोलामा माओवादी छन् भन्ने सूचना पाएर सेना त्यस क्षेत्रमा गएको जानकारी आयो। म त्यसतर्फ केन्द्रित भएँ। किनकि, त्यो बेला भर्खर संकटकाल लागेको थियो। सरकारले माओवादी विद्रोहीलाई नियन्त्रण गर्न सेना परिचालन गरेको थियो।त्यही दिन माओवादीहरू रतन्छा र च्यानडाँडाबीचको खोला क्षेत्रमा रहेको चाल पाएपछि सेनाको गस्ती हिँडेको थियो।
त्यो ठाउँ सदरमुकाम दिक्तेलबाट डेढ दिन पैदल हिँडेपछि पुगिन्थ्यो। सेना हिँडेको जानकारी पाएको केही घन्टापछि म र पत्रकार किसनचन्द्र राई सेनाको पछि–पछि लाग्यौं।
हामी सेनाको पछाडि थियौं। खोला क्षेत्रमा माओवादी थिए वा अरु नै थिए सेनालाई यकिन थिएन। माओवादीहरू जहाँ थिए, त्यस वरपर स्थानीयहरू पनि खोलामा माछा मार्दै नुहाइरहेका देखिन्थे।सेना पुग्यो, सेना पुग्दा माओवादी धेरैजसो भागिसकेका थिए।
खोलामा पुग्नेवित्तिकै सेनाले अन्धाधुन्द गोली चलाउन थाल्यो। गोली चलाउँदा दुई माओवादीसहित ९ जना सर्वसाधारणको ज्यान गएको थियो। सोलुखुम्बुको सल्लेरी ब्यारेकमा आक्रमण गरेर फर्केका माओवादीलाई कारबाही गर्न सेना त्यहाँ पुगेको रहेछ।किनभने सल्लेरी आक्रमणगरी आ–आफ्नो जिल्ला फर्किएका थिए । त्यसमध्ये खोटाङ फर्किएका माओवादीहरु यस क्षेत्रमा आएको सूचना सेनाले पाएको थियो । माओवादी लडाकुहरूको केही समूह सो खोलामा रहेको सूचना पाएपछि सेना हिँडेको थियो।
तर, सेनाले त्यहाँ दुई माओवादीबाहेक अरु सर्वसाधारणमाथि गोली बर्सायो। सेनाले आक्रमण गर्दा त्यहाँ राष्ट्रिय भलिबल खेलाडी राजेन्द्र राई पनि थिए। उनीसहितको समूहलाई सेनाले लाइन लगाएर पालैपालो गोली ठोक्यो। जो–जो मारिए, ती सबै माओवादी थिएनन्। तर, सेनाले सबैलाई ‘आतंककारी’ भनेर समाचार प्रचार–प्रसार गर्यो।
घटनास्थलबाट सदरमुकाम फर्किएपछि त्यो यथार्थ राम्रोसँग केलाएर मैले आफू कार्यरत संस्था कान्तिपुर दैनिकमा समाचार लेखेँ। कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापियो। कान्तिपुर एफएमले प्रत्येक बुलेटिनमा समाचार प्रसारण गर्यो। त्यो बेलाको संकटकालमा यस्तो समाचार लेख्न त्यति सहज थिएन। खोटाङ माओवादी प्रभावित जिल्लाको रुपमा चिनिथ्यो, जहाँ सेनाको गतिविधि उग्र थियो।
रतन्छा घटना प्रत्यक्ष देख्नेहरुको कुरा सुन्दा मात्रै कतिपय बेहोस हुन्थे। लाइन लगाएर पालैपालो गोली हान्दा उनीहरु उफ्रिएर लडेको सुन्दा अहिले पनि कहाली लाग्छ। कसैलाई खुट्टा भाँचेर गोली ठोकेका थिए त कसैलाई ‘तँ माओवादी होइनस्’ भन्दै गोली हानेका थिए। सेना हिँडेपछि हामी घटनास्थल पुग्यौं। पुगेपछि हेर्दा त्यो दृश्य निकै हृदयविदारक देखियो। मनले पटक्कै सहन सकेन। हामी फोटो खिच्न थाल्यौं। फोटो खिचिरहँदा आकाशमा सेनाको हेलिकप्टरले हवाई गस्ती गरिरहेको थियो।
सेनाको हेलिकप्टरले माथिबाटै फायर गर्छ कि भनी हामी खुबै त्रसित भयौं। सेनाको हलिकप्टर घरि आउँथ्यो, घरि हराउँथ्यो। हामी परिस्थिति नियाल्दै घटनास्थल छोड्न खोजिरहेका थियौं। छापामार शैलीमा हिँड्नुपर्ने अवस्था थियो। जहाँ पुग्दा रात पर्छ, त्यहीँ बास माग्नुपर्थ्यो। दृश्य अवलोकन गर्दै हामी नजिकको माओवादी सम्पर्क सूत्रमा पुग्यौं।
त्यो सम्पर्क सूत्र चाहिँ तीन घन्टा पैदल यात्रा गरेपछि मात्र फेला पर्यो। त्यो क्षेत्रका एक जना ठूलै माओवादी नेता ठूलकुमार श्रेष्ठलाई केही समयअघि मात्र सेनाले मारेका थिए। वरपर कतै बस्ती थिएन। हामी त्यही माओवादी सेल्टरमा बास बस्यौं। माओवादी कार्यकर्ताले मकैको ढिँडो पकाएर खुवाए।
बिहान झिसमिसै सदरमुकामतर्फ पैदल हिँड्यौं। दिक्तेल पुगेर समाचार पठाउने बेलामा त दर्जनौं माओवादी कार्यकर्ता हताहत भएको खबर सेनाले सञ्चारमाध्यममा फैलाइसकेको रहेछ।
तर, घटनास्थलको वास्तविकता अर्कै थियो। जुन मैले स्थलगत रिपोर्टिङबाट फर्केपछि कान्तिपुरमा लेखेको थिएँ। समाचार छापियो। कान्तिपुर दैनिक दिक्तेल आइपुग्न एक साता लाग्थ्यो। तर, कान्तिपुर एफएमको प्रभाव देशैभरि बुलंद थियो। एफएमले समाचार घन्टैपिच्छे प्रमुख हेडलाइनमा प्रसारण गर्यो। त्यो पनि सेनाबाट सर्वसाधारण नागरिक मारिएको समाचार प्रसारण गरिरहेको थियो।
यसरी कान्तिपुर एफएमले समाचार प्रसारण गर्न थालेपछि म सेनाको निशानामा परेँ। एकातिर सेनाको दबाब, अर्कोतिर माओवादीको पनि। दुबैतर्फबाट निगरानी हुन्थ्यो।समाचार प्रशारण र प्रकासित भएपछि सेनाको ब्यारेकमा भूकम्प गएछ। सेनाले आतंककारी मारेको भनी प्रचार गरेको थियो। तर, त्यहाँ आतंककारी भन्दा धेरै सर्वसाधारण मारिएका थिए। जुन समाचारले तरंग ल्यायो।
त्यसको केही महिनापछि कान्तिपुरकै अर्को संस्करण नेपाल साप्ताहिकबाट माधव ढुंगेल गएर सोही घटनाबारे बुलंद कभरेज गरेका थिए।सो घटनापछि म र मेरा सहकर्मी साथी किशनचन्द्र राईको पछि सेना लाग्यो। सेनाका सादा पोशाकधारी जवानहरु हाम्रो पछिपछि खटिन थाले। हामी जहाँ गयो, सेनाले पिछा गरिरह्यो। सेनाले पिछा गरिरहेपछि मैले खोटाङका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई ल्याण्डलाइन टेलिफोनमार्फत जानकारी गराएँ।
मैले आफ्नो समस्या पोखेँ। उनले मलाई भनेका थिए, ‘सेनाको कुरामा अलि मिलाएर लेखेको भए हुन्थ्यो, यसमा म केही गर्न सक्दिनँ।’ प्रजिअबाट निराशाजनक कुरा आयो। त्यसबेला खोटाङ जिल्लामा सेनाका इन्चार्ज मेजर जीतबहादुर गुरुङ थिए। उनलाई फोन गरेँ। ल्याण्डलाइनको जमानामा भेट्न गाह्रो हुन्थ्यो। उनीसँग बल्लतल्ल कुराकानी भयो। त्यो टेलिफोन कुराकानीमा उनले भनेका थिए, ‘सेनाले आतकंकारी घोषणा गरेका व्यक्तिका बारेमा तपाइर्ले यस्तो सम्प्रेषण गर्न हुँदैनथ्यो।’
यो कुरा एक–अर्को हुँदै परिवारमा पुगेछ। परिवारलाई थाहा भएपछि उनीहरूले पेशा छोड्न दबाब दिन थाले। खोटाङ दित्तेलमा म साइँली दिदी अम्बिका श्रेष्ठको घरमा बस्थेँ। समाचार छापिएपछि घरबाहिर सेनाका केही जवान सादा पोशाकमा बसिरहन्थे। यो क्रम एक सातासम्म जारी रह्यो। सेनाबाट बारम्बार टोली घरमै आएर निगरानी गर्न थालेपछि म घर छोड्ने निधोमा पुगेँ। रातारात म दिक्तेल छाडेर छिमेकी गाउँ लफ्याङमा मित्र आशिष राईको घरमा शरणार्थी भएर पुगेँ। त्यहाँ केही दिन बसेँ। तर, सेनाका जवानहरुले पिछा छोडेनन्। त्यसबेला मलाई मार्ने अनुकूल वातावरण नभएको ठाने या निगरानी मात्रै गरे, त्यो मैले अहिलेसम्म पत्ता लगाउन सकिनँ।
म लफ्याङमा रहेको बेला पत्रकार महासंघको ध्यानाकर्षण भएछ। त्यसबेला पत्रकार महासंघ खोटाङको तदर्थ समिति भर्खरै गठन भएको थियो। मेरै नेतृत्वमा गठन भएको शाखामा त्यसबेला खासै व्यावसायिक पत्रकारहरु थिएनन्। मैले नै प्रशिक्षण दिएर केही पत्रकार उत्पादन गरेको थिएँ। त्यसबेला राजधानीका केही अखबारमा कामगरी फर्किएका कृष्ण आचार्य पनि तदर्थ समितिमा थिए। साथीहरूबीच अनौपचारिक बैठक हुँदा सेनाले गरेको ‘फलो’बारे निचोडमा पुग्न सकेनन्।
सेनाका जवानहरूले लफ्याङमा पनि मेरो पिछा गर्न नछोडेपछि म निष्कर्षमा पुगेँ– अब मलाई सेनाले मार्छ। एक साताको लफ्याङ बसाइपछि म दिक्तेल फर्किने निचोडमा पुगेँ। म अघिअघि दिक्तेलतर्फ हिँडे। म सदरमुकाममा हुँदा जो सेनाका जवानहरू थिए, तिनै लफ्याङबाट हिँड्दा मेरो पछिपछि थिए। लफ्याङबाट तीन घन्टा पैदल हिँडेर सदरमुकाम दिक्तेल पुगेँ। म सदरमुकाम पुग्दा पत्रकारहरू नै ‘भूमिगत’जस्ता भएका थिए।
म सिधै कोठातर्फ हिँडें। कोठामा पुग्दा श्रीमती कलासहित दिदी भिनाजू निकै स्तब्ध देखिनुहुन्थ्यो। मलाई पत्रकारिता छोड्न सबैले दबाब दिन थाले। आमा चन्द्रकुमारीको सल्लाहमै श्रीमती, दिदी र भिनाजूले खोटाङ छोडेर जान दबाब दिनुभयो। अब म के गरुँ? त्यो बेलाको कान्तिपुर दैनिकको संवाददाता। त्यतिबेला कान्तिपुरमा काम गर्ने पत्रकारको छुट्टै प्रतिष्ठा थियो। म त्यहीँ बसेर पत्रकारितामा अगाडि बढ्न चाहन्थेँ। तर, सबैतिरको दबाबपछि मैले खोटाङ छोड्ने निधो गरेँ।
मैले भोगेको सबै घटना त्यसबेलाका राप्रपाका मन्त्री पर्शुराम राईलाई थाहा थियो। संयोगवशः यही समयमा राईकी श्रीमती बिरामी परिन्। मेरी श्रीमती कला पेशाले नर्स थिइन्। राईले हेलिकप्टर चार्टर गरेका रहेछन्। श्रीमतीसहित मलाई ‘सँगै’ काठमाडौं जान प्रस्ताव गरे। म कलासित हेलिकप्टरमा काठमाडौं उड्न तयार भएँ। हाम्रो लगेज हेलिकप्टरमा राखियो। मेरी श्रीमती कला हेलिकप्टरमा चढिन्। राईकी श्रीमतीलाई सम्हाल्न थालिन्।
हेलिकप्टरको पंखा घुम्न थाल्यो। म हेलिकप्टरमा चढ्नै लागेको थिएँ। ठिक त्यसैबेला नेपाल प्रहरीका एक जना इन्स्पेकटर हेलिकप्टर नजिक आइपुगे। र, भने, ‘म यो हेलिकप्टरमा जान्छु, तपाइँ ओर्लनुहोस्।’ म अब अकमक्कमा परेँ। श्रीमती हेलिकप्टरमा चढिसकेकी थिइन्। मलाई ती इन्स्पेक्टरले रोके। मलाई रोकेपछि श्रीमती कला पनि हेलिकप्टरबाट झरिन्। ‘म हिँडेर आउँछु, तिमी जाउ’ भन्दा उनले मानिनन्।
हामी उड्ने ठाउँमा इन्स्पेक्टर उडे। मेरी श्रीमती कलाले भनिन्, ‘यस्तो डरमर्दो अवस्था छ, तपाईं एक्लैलाई छाड्दिनँँ।’ उनी गइदिएको भए मलाई धेरै सहज हुन्थ्यो । एकातिर भारी, त्यहीमाथि श्रीमती । अन्ततः पखेटा चलाइसकेको हेलिकप्टरबाट मैले लगेज झारेँ। र, केही क्षणपछि एउटा भरिया खोजेर चार दिनको हिडाइँपछि मेरो आफ्नो घर मोरङ उर्लाबारी पुगेँ।
खासमा स्थायी घर मोरङ उर्लाबारीबाट काम गर्नैका लागि म खोटाङ गएको थिएँ। खोटाङ नै रोज्नुको कारण चाहिँ मेरो जन्मथलो थियो। आफन्त, साथीभाइ पनि थुप्रै थिए।
चरम द्वन्द्वकालमा खोटाङमा रिपोर्टिङ गर्नु चानचुने कुरै थिएन। हरेक साँझ माओवादीले जिल्ला प्रहरी कार्यालय हान्दैछ रे भन्ने हल्ला चल्थ्यो। राति गोली चलेको आवाजहरु प्रशस्तै सुनिन्थ्यो। जिल्ला प्रहरी कार्यालय नजिकै मेरो कोठा थियो। हरेक दिन भिडन्त र मारिएको खबर प्राप्त हुन्थ्यो। त्यसमाथि कान्तिपुरको विराटनगर ब्यूरो प्रमुख विकास थापाले अपडेट मागिरहन्थे।
भात खाँदै गर्दा पनि फोन आउँथ्यो। खाँदै गरेको भात छाडेर दौडिनुपर्थ्यो। किनभने त्यसबेला जागिर भनेको निक्कै महत्वपूर्ण हुन्थ्यो। खानाभन्दा महत्वपूर्ण समाचार हुन्थ्यो।
प्रविधि केही पनि थिएन। निकोनको रिल लोड हुने क्यामरा चर्चामा थियो। म रिल हालेर सोही क्यामरा बोक्थेँ। फोटो त मैले थुप्रै खिचेंँ। तर, धुलाउन काठमाडौं पठाउनु पर्ने हुन्थ्यो। पाँच रोल धुलाउन काठमाडौं पठाएको थिएँ। तर, धुलाएर पनि ल्याइसकिएको थियो। तर, जसले ती फोटो बोकेर हिँडेका थिए, सोही साता माओवादीले विमानस्थल लामिडाँडामा बिस्फोट गरी ध्वस्त पारे। मैले खिचेका सारा फोटोहरू एयरपोर्टमै ध्वस्त भए।
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५