विराटनगर : क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरूले दोहोरो सुविधा लिएको विषयलाई लिएर मोरङको सुकुना बहुमुखी क्याम्पस अशान्त बनेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुकुना क्याम्पसमा कार्यरत प्राध्यापकहरूले दोहोरो सुविधा लिएको विषयलाई लिएर आन्दोलित बनेको नेपाल विद्यार्थी संघले आफ्ना नेता तथा कार्यकर्तामाथि नियोजित तवरले आक्रमण गरेको आरोप समेत लगाएको छ ।
क्याम्पसमा कार्यरत १३ जना प्राध्यापकले ऐनविपरीत दोहोरो सुविधा लिएको जनाउँदै त्यसको विरोधमा आन्दोलन गर्दै आएको थियो । क्याम्पसले विद्यार्थीका लागि बस खरिद गर्नुपर्ने, शैक्षिक वातावरण कायम हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका नेविसंघले पटकपटक क्याम्पस प्रशासनसँग वार्ता पनि गर्दै आएको थियो ।
गत बुधबार पनि आन्दोलनको कार्यक्रम जारी रहेको अवस्थामा धर्नामा बसेका नेविसंघका विद्यार्थीमाथि अनेरास्वियुका विद्यार्थीले आक्रमण गर्दा चार जना घाइते भएका थिए । नेविसंघ मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति होमनाथ पोखरेलका अनुसार क्याम्पस प्रशासनको मिलोमतोमा आफूलाई आक्रमण गरिएको जनाए ।
उनले अखिलका विद्यार्थीको आक्रमणबाट नेविसंघ सुकुना क्याम्पसका सभापति विजय तोलाङगी, सचिव समीर सम्राट, सदस्य जीवन बस्नेतलगायत घाइते भएको जानकारी दिए । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौँ । तर क्याम्पस प्रशासनले विद्यार्थी उचालेर दमन गर्यो’, पोखरेलले भने, ‘हामीमाथि आक्रमण गर्नेको किटानी जाहेरी दिँदासमेत प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।’
आफ्ना कार्यकर्ता घाइते भएपछि आक्रोशित बनेको नेविसंघले अहिले दैनिकजसो नाराजुलुससहित धर्ना लगायतका विरोध कार्यक्रम गर्दै आएको छ । बुधबार, बिहीबार र शुक्रबार पनि सो घटनाको विरोधमा नेविसंघ, महिला संघ लगायतले क्याम्पसको गेटअघि नाराजुलुससहित प्रदर्शन र कोणसभा आयोजना गरे । स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट समेत थप सुरक्षा तैनाथी खटाइएको थियो । बिहान करिब तीन घण्टा विद्यार्थीहरूले क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गरे ।
आन्दोलित बनेको नेविसंघले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । घटनाको विषयलाई लिएर नेविसंघ क्षेत्र नम्बर ३, सुकुना बहुमुखी क्याम्पस इकाई समिति र नेविसंघ सुन्दरहरैँचाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी कारबाहीको माग गरिएको छ ।
घटना हुनुमा क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीसहित स्ववियु सभापति सन्तोष लिम्बू, सदस्य कमल कार्की, अनिल कार्की, नवीन गिरी, अनेरास्ववियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष मिलन बस्नेत, कार्यकर्ता विवेक भुजेलको मुख्य हात रहेको नेविसंघको आरोप छ ।
यसैबीच क्याम्पस प्रशासनले अनिश्चितकालका लागि पठनपाठन बन्द गरेकाे समाचार प्राप्त भएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५