काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकाल्दा बैंग्लोर लगातार दोस्रो हार बेहोरेको छ ।
बिहीबार राति भएको खेलमा मुम्बईले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले पराजित गरेको हो । मुम्बई इन्डियन्सको यो पहिलो जित हो । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।
एम चिन्नास्वामी क्रिकेट रंगशालामा घरेलु टोली बेंग्लोर जित नजिक पुगेर पनि पराजित भएको हो । मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो ।
बेग्लोरका लागि एबी डी भिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७० रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले ४१ बलमा ६ छक्का र चार चौका प्रहार गरेका थिए ।
त्यस्तै, कप्तान विराट कोहलीले ३२ बलको सामना गर्दै ६ चौका प्रहारसहित ४६ रन बनाए । पृथ्वी पटेलले ३१ रनको योगदान दिए । मुम्बईको जितमा जस्प्रित बुम्राहले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८, सुर्यकुमार यादवले ३८ रन र हार्दिक पाण्ड्याले १४ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३२ रन बनाएका थिए ।
बलिङतर्फ युजभेन्द्र चाहालले चार विकेट लिदा उमेश यादब र मोहम्मद सिराजले समान २–२ विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५