काठमाडाैं : ‘नयाँ बानेश्वरमा एउटा कुकुरले हरियो ट्राफिक बत्तीको पर्खाइमा बसिरहँदा त्यही बानेश्वरको आकाशे पुलमुनिबाट पैदलयात्रीहरू हतारमा बाटो काट्दै थिए’, बानेश्वर चोकमा ड्युटीमा रहेका प्रसनि उमेशलाल श्रेष्ठले भने । उनले भनेको कुरा प्रमाणित गर्न कुकुरले बाटो काट्न जेब्राक्रसमा टुक्रुक्क बसेर पर्खिरहेको एउटा फोटो पनि देखाए ।
प्रसनि श्रेष्ठको भनाइ पुष्टि गर्न एक दिन काठमाडौंका केही स्थान नियाल्दा नै काफी हुने रहेछ । यो पंक्तिकारले काठमाडौंलाई एक चक्कर लगायो, यसैसँग सम्बन्धित ‘स्टोरी’का लागि । क्यामेरामा कैद भएका काठमाडौंका केही दृश्य हेरिसकेपछि हामी मानिस सर्वश्रेष्ठ प्राणी हौं त ? भनेर सोच्न बाध्य गरायो/गराउँछ जस्तो लाग्छ ।
काठमाडौंबासीलाई सधैँ हतारै हुन्छ । कसैलाई प्लेन छुट्ला भन्ने हतार, कसैलाई अस्पताल पुग्नुपर्ने हतार छ । कसैलाई सडक पार गर्न हतार छ त कसैलाई पसल÷होटल खोल्न हतार छ । कसैलाई नानीको बिल तिर्न विद्यालय पुग्न हतार छ । कसैलाई बैंकमा किस्ता तिर्न हतार छ भने कसैलाई साथीभाइ भेट्न हतार छ । तर यही हतारले प्रायः डरलाग्दा दुर्घटना निम्त्याइरहेको छ ।
काठमाडौंको विभिन्न चोकमा पैदलयात्रीको फोटो खिच्ने क्रममा अनेक किसिमका ट्राफिक असरका गतिविधि देखिए । नयाँ बनेश्वर चोकैमा आकाशे पुल बनाइएको छ, पैदलयात्री हिँड्न भनेर । तर उक्त पुलमार्फत बाटो काट्ने बटुवा भेटिँदैन । गत बुधबार दिउँसो २ बजे त्यहाँ पुग्दा नजिकैका व्यवसायीका बोरालगायत अन्य सामान सुकाउने ठाउँका रूपमा भेटियो आकाशे पुल । पैदलयात्री भने पुलमुनिबाटै निर्धक्क बाटो काटिरहेका थिए ।
पैदलयात्रीलाई आफ्नै टाउकामाथिको पुलबाट हिँड्न धेरै गाह्रो भएजस्तो दृश्य देखियो । मानौं, सबै अशक्त हुन् । नयाँ बानेश्वरको आकाशे पुल छेउमा बसेर १० मिनेटको समयमा सात जनाले आकाशे पुल प्रयोग गर्दा ४८ जना पुलमुनिबाटै पार गरे ।
काठमाडौंको मध्य बानेश्वरमा एक शिक्षित (एक कार्यालय वा विद्यालयको पोसाकमा) देखिने नागरिकले मज्जाले मोबाइल चलाउँदै सडक पार गरे । उनको हाउभाउ हेर्दा लाग्थ्यो उनी सडकबीचमा नभई कतै एकान्त र सुरक्षित ठाउँमा छन् । लाग्छ, सडक पार गरेर मोबाइल चलाउँदा ठूले काम बिग्रनेवाला छ ।
यस्तै अर्काे समस्या पनि छ काठमाडौंमा । जब बेलुकीको ६ बज्छ, तब फुटफाथमा बजार लाग्न थाल्छ । बोराका व्यापारीहरू विभिन्न घरका चेपबाट फुटपाथमा आउन थाल्छन् । फुटपाथमा समान बिक्री हुन थालेपछि किन्ने र बेच्नेबीचको ‘बार्गेनिङ’ सुरु हुन्छ । किन्ने र किनाउनेबीचको मोलमोलाइका कारण अन्य पैदलयात्री सडकबाट यात्रा गरिरहेका छन् । सोही समयमा काम सकेर घर फर्किनेहरूका कारण सवारीसाधनको चाप पनि बढ्ने भएकाले दुर्घटना बढी हुने गरेको महानगरिय ट्राफिक महाशाखा काठमाडौंका प्रवक्ता जयराज सापकोटाको भनाइ छ ।
प्रवक्ता सापकोटाका अनुसार काठमाडौंमा भएका दुर्घटनाको चार भागमा एक भाग पैदलयात्रीका कारण हुने गरेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पाँच हजार पाँच सय ७३ दुर्घटनाहरू भए । दुर्घटनामा एक सय ६९ जनाको मृत्यु, एक सय ९६ जना गम्भीर घाइते र तीन हजार सात सय ८७ जना सामान्य घाइते भएका छन् । उक्त दुर्घटनामा नौ हजार नौ सय ५४ वटा सवारी साधन परे । ट्राफिक प्रहरीका अनुसार उक्त दुर्घटनामध्ये एक चौथाई पैदलयात्रीका गल्तीले भएका हुन् ।
ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम नगरेको होइन । निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै पैदलयात्रीलाई सम्झाउने काम पनि गरिरहेकै छ । तर सडकमा सवारी साधन चालकले गल्ती गरे कारबाही गर्ने कानुन भए पनि पैदलयात्रीलाई कारबाही गर्ने कानुन नै नेपालमा छैन । कारबाही गर्ने कानुन नहुँदा सम्झाउने मात्र गरेको प्रवक्ता सापकोटाको भनाइ छ ।
शिक्षित हुने सबै सचेत नहुन सक्छ । हामीले सवारी साधन प्रयोग नगर्दा सबै पैदलयात्री नै हो । अब आमी सचेत नभए यस्ता दुर्घटना भइरहने र हतारमा मृत्युलाई निम्त्याउने काम भइरहेकाले हामी पैदलयात्री सचेत भएर दुर्घटना कम गराउनु आवश्यक छ । ट्राफिक प्रहरीका अनुसार आठ महिनाको अवधिमा पैदलयात्री सचेत भइदिएको भए एक हजार तीन सय ९३ दुर्घटना कम हुने थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५