काठमाडौं : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव पार्टी नभएर गिराेह भएकाे बताएका छन् । आज नेकपा प्रदेश नं ३ को प्रथम बैठकको उद्घाटन गर्दै ओलीले विप्लवकाे समूह कतै पनि दर्ता नभएकाले साे पार्टी नभई गिराेह भएकाे बताएका हुन् ।
ओलीले शान्ति सुरक्षा कायम गर्दा गृहमन्त्रीमाथि भएका कमेन्टप्रति आपत्ति जनाएका छन् । कतिपयले गृहमन्त्रीलाई शान्ति सुरक्षा कायम गरेको, बम पड्काउन नदिएको, बन्दुक पड्काउन नदिएको, लुटपाट गर्न नदिएको, मान्छे मार्न नदिएकामा आपत्ति जनाए जस्तो गरेको बताउँदै ओलीले प्रश्न गरे, ‘लुटपाट गर, बम पड्काऊ बाबु हो भन्ने ? नियन्त्रण गर्नु पर्दैन ? विकासतर्फ हामी जाने हो भने ।’
प्रधानमन्त्री ओलीले अब नेपालका क्रान्ति आवश्यक नरहेको बताए । नेपालमा क्रान्ति गरेर केही नहुने भन्दै हिंसा मच्चाएर त्यसलाई क्रान्ति भनेर सत्ता कब्जा गर्छु भनेर ठानेको भए त्यो सपनाको छेउ पनि नभएको बताए । विप्लवको गिरोह लुटपाट गर्न मात्र पल्किएकाले यो कुनै पार्टी नभएको उनको भनाइ थियो, ‘कतिले भने, पार्टीमाथि प्रतिबन्ध लगाएको भन्ने तथाकथित लोकतन्त्रवादीहरू छन् । कहाँ थियो पार्टी ? कहाँ छन् पार्टी ? कुन कार्यालयमा दर्ता भएको पार्टीमाथि प्रतिबन्ध लाग्यो ? कुनै सिडिओ कार्यालयमा दर्ता थियो कि कुनै गृहमन्त्रालयमा दर्ता थियो कि या कसैको घरमा दर्ता थियो ?’
हुँदै नभएको पार्टीलाई कसले प्रतिबन्ध लगाउँछ ? भन्दै उनले भने ‘प्रतिबन्ध लगाइएको लुटपाटमाथि हो । उत्पातमाथि हो ।’ सामाजिक अपराध र अराजकता हुन नदिनका लागि उनीहरुको गतिविधिमाथिको प्रतिबन्ध भएको ओलीले बताए ।
साथै कांग्रेसीहरूले राजतन्त्र ल्याउन चाहेको आरोप समेत लगाए । राजतन्त्र चाहनेलाई कांग्रेसले समर्थन गरेको आरोप लगाए । ‘कठैबरा कांग्रेस ! कहाँ पुग्यो हेर्दाहेर्दै । कांग्रेसको मार्गदर्शन के हो ? हेर्दाहेर्दै कांंग्रेस सर्पको खेलजस्तो ९९ मा पुगेर स्वात्त दुईमा ।’ कमसेकम विचारमा त काँग्रेस लोकतान्त्रिक हुनुपर्ने बताउँदै केपी शर्मा ओलीले कांग्रेसको बोलीमा तुक नभएको बताए ।
हेर्नुस् भिडियाे :
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५