भोजपुर : स्वास्थ्य बिमा गर्दा एक वर्षभित्रमा पचास हजार रुपैयाँ बराबरको सेवा पाउने भएपछि दुर्गम पहाडी जिल्ला भोजपुरमा बिमा गराउनेको संख्यामा बृद्धि हुँदै जान थालेको छ । जिल्लामा बिमा कार्यक्रम सुरु भएपछि हालसम्म चौध हजारभन्दा बढीले बिमा गराइसकेका छन् ।
भोजपुरमा २०७४ पुस २४ गतेबाट सुरु भएको बिमा कार्यक्रमअन्तर्गत दुई हजार पाँच सय रुपैयाँमा बिमा गरेमा घरका पाँच जनाको बिमा हुने छ । घर परिवार संख्या बढी भएमा प्रतिव्यक्ति संख्या बराबर थप चार सय २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बिमा बोर्ड भोजपुरको पुस मसान्तसम्मको तथ्यांक अनुसार जिल्लाका नौ स्थानीय तहहरूमा हालसम्म १४ हजार पाँच सय ९२ जनाको स्वास्थ्य बिमा भएको छ । जसमा सात हजार ७७ जना पुरुष र सात हजार पाँच सय १५ जना महिला छन् ।
बिमा कार्यक्रम अन्तर्गत भोजपुर अस्पताल, प्याउली, दिंला र घोरेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिमाको सेवा पाइने छ । पहिलो चरणमा हुने सेवाभन्दा अन्यत्र सिफारिस गर्नुपरेमा भने सुविधा सम्पन्न अस्पतालहरूका लागि सिफारिस हुने बिमा बोर्ड भोजपुरले जनाएको छ ।
जिल्लामा उपचार सम्भव नभएमा बिमा कार्यक्रम अन्तर्गत बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान, कोसी अञ्चल अस्पताल मोरङ, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज टिचिङ अस्पतालमा गएर बिरामीले उपचार गराउन सक्ने छन् ।
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रहेको भन्दै अहिले दर्ता अधिकारीमार्फत बिमा गराउनेको संख्यामा समेत वृद्धि हँुदै जान थालेको छ । भोजपुरका नौ स्थानिय तहमा रहेका ८१ वटा वडाबाटस्वास्थ्य बिमा गराउन सकिने व्यवस्था छ ।
स्वास्थ्य बिमा गरेर सेवा समेत लिइसकेका भोजपुर नगरपालिका–८ पोखरेका सञ्जीव कार्की भन्छन्, ‘स्वास्थ्य बिमा कार्यक्रम राम्रो रहेछ, मैले पनि गत वर्ष नै बिमा गराएर सेवा समेत लिइसकेँ । स्वास्थ्य बिमाको सेवा लिँदा स्वास्थ्य संस्थाहरूले राम्रो सेवा नदिने हुन कि जस्तो लाग्थ्यो तर राम्रो रहेछ ।’
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५