इलाम : चिया बगान व्यवस्थापनले श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदुर आन्दोलित भएका छन् । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको दैनिक भत्ता र महँगी भत्ता कार्यान्वयन नगरिएको भन्दै बन्दको घोषणा गरेका हुन् ।
चिया मजदुर सम्बद्ध तीन सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगान र कारखानामा कार्यरत श्रमिकको आधारभुत पारिश्रमिक दैनिक दुई सय ३१ र महँगी भत्ता एक सय ५४ रुपैयाँ कायम गर्न आन्दोलन गर्दै आएका छन् ।
श्रम ऐन कार्यान्वयनका लागि ट्रेड युनियनले गत असोज १० गते समेत चिया कारखाना बन्द गर्ने घोषणा गरेका थिए । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल बनाएको थियो ।
कार्यदलले चिया क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका चिया उद्योगी एवं मजदुरसँग छलफल गरी गत फागुन ३० गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । अखिल नेपाल चिया मजदुर सङ्घ इलामका अध्यक्ष उमेश रेग्मीले उद्योगीले मजदुरको माग सम्बोधन नगरेका कारण पुनः आन्दोलन गर्नुपरेको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५