भोजपुर : भोजपुर सदरमुकामबाट पश्चिम टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा आधुनिक प्रविधिसहितको ल्याब सेवा सुरु भएपछि त्यस क्षेत्रका बासिन्दालाई घन्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको छ ।
दुर्गम भेगका सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण स्वास्थ्य चौकीमा पहिलोपटक ल्याब सेवा सञ्चालनमा आएको हो । गाउँपालिका क्षेत्रभर बिजुलीको पहुँच पुगेकाले ल्याब सेवा सञ्चालनमा ल्याउन सहज भएको हो ।
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर गाउँपालिकाले यस वर्षबाटै जनशक्ति र सामग्री गरी करिब ३५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । ‘एक जना प्राविधिकलाई गाउँपालिकाले तलब खुवाउने गरी करारमा राखेका छौं । गाउँका विरामीलाई अब आधारभूत रोगको परीक्षण गर्न बाहिर जानु पर्दैन’, गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक दानप्रसाद राईका अनुसार गाउँपालिकाका दुर्गम तिम्मा, खम्बुखा, पाङखाङ, रिमचिम, लेखर्क, गोगने, कोट, दलगाउँलगायत छिमेकी जिल्ला खोटाङबाट पनि सर्वसाधरण स्वास्थ्य जाँचका लागि आउने गरेका छन् । गत हप्ताबाट सेवा सुरु भएपछि ल्याबबाट ४१ प्रकारका स्वास्थ्य परीक्षण हुने संयोजक राईले बताए ।
गाउँपालिका साथै छिमेकी जिल्ला खोटाङबाट पनि सर्वसाधारण रगत, पिसाब, दिसा, खकार आदिको नमूना परीक्षण गर्न आउने गरेका छन् । यसअघि त्यस क्षेत्रका बासिन्दा सामान्य स्वास्थ्य जाँचका लागि पनि सदरमुकाम भोजपुर धाउन बाध्य थिए । गाउँमै ल्याब सेवा सुरु भएपछि समय र पैसा दुवै जोगिएको स्थानीय बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५