सामाजिक संजाल फेसबुक र ट्विटरमा अभ्यस्त बन्न थालेका छन् नेपाली राजनीतिक नेताहरू । उनीहरू कति लोकप्रिय छन् भन्ने थाहा पाउने मापनको एउटा आधार ट्विटरका फलोअर पनि हुनसक्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बाराक हुसेन ओबामा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्विटरमा निकै सक्रिय छन् । नेपालमा पनि नेताहरू ट्विटरमा सक्रिय हुने ट्रेन्ड क्रमशः बढ्दो छ । विशेषगरी दोस्रो पुस्ताका नेताहरूले यसमा बढी नै चासो देखाएका छन् । ट्विटरमा सबैभन्दा बढी फलोअर डा. बाबुराम भट्टराईका देखिन्छन् भने सबैभन्दा कम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका रहेका छन् ।
लाखौँ नेपालीले प्रयोग गर्ने ट्विटरमा केही सक्रिय नेताहरूका भेरिफाइड एकाउण्ट छन् । तीमध्ये बढी फलोअर भएका १० नेपाली नेताबारे यहाँ प्रस्तुत छ ।
डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन्, डा. बाबुराम भट्टराई । उनी ट्विटरमा सर्वाधिक फलोअर भएका नेपाली नेता हुन् । उनलाई १० लाख ७६ हजार २८१ जनाले फलो गरेका छन् । उनले ४८६ जनालाई मात्र फलो गरेका छन् ।
सन् २०१३ जनवरीबाट ट्विटरमा जोडिएका भट्टराईले बुधबार दिउँसोसम्म ९ हजार २०३ पटक ट्विट गरेका छन् । आफ्ना राजनीतिक गतिविधि र समसामयिक राजनीतिक परिस्थितिका बारेमा तत्कालै प्रतिक्रिया व्यक्त गर्ने गरेकाले पनि उनको फलोअर बढी भएको देखिन्छ । भट्टराईका ट्विट धेरै रिट्विटसमेत हुने गर्छन् । उनका ट्विटमा समर्थन र आलोचना गर्नेहरू पनि उत्तिकै छन् । उनको भेरिफाइड एकाउण्ट छ ।
गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं– ४ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्, गगन थापा । नयाँ पुस्तामा थापालाई आशालाग्दा नेताका रूपमा हेरिन्छ । फेसबुकका साथै ट्विटरमा समेत उनी निकै सक्रिय छन् । सन् २००९ नोभेम्बरबाट ट्विटरमा जोडिएका थापाका ८ लाख ७३ हजार ८०१ फलोअर छन् । उनले ७४६ जनालाई मात्र फलो गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद थापा अहिले संसदमा सरकारविरुद्ध सबैभन्दा कडा रूपमा प्रस्तुत हुने नेता हुन् । इतर पार्टीका नेता, कार्यकर्ताले समेत थापाको ट्विटलाई चासोका साथ हेर्ने गरेका छन् । उनका समर्थक र विरोधीबीच ट्विटरमै पनि राम्रै दोहोरी चल्ने गर्छ । कांग्रेसभित्र ‘मिडिया’ र ‘सोसल मिडिया’लाई राम्रोसँग उपयोग गर्न सक्ने नेताका रूपमा थापालाई लिने गरिन्छ ।
रवीन्द्र मिश्र
पूर्वपत्रकार रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन् । बीबीसी नेपाली सेवामा कार्यरत रहँदा उनले तीखो प्रश्न सोधेर श्रोताको मन जितेका थिए । राजनीतिमा पनि उनले छोटो समयमा राम्रो प्रभाव जमाइसकेका छन् । ट्विटरमा पनि उनको प्रभाव कम छैन ।
सन् २०११ अगस्टबाट ट्विटरमा जोडिएका मिश्रका ८ लाख ४६ हजार ३२३ फलोअर छन् । उनले राजनीतिमा जोडिनुअघि नै ट्विटरमा धेरै फलोअर कमाइसकेका थिए । समसामयिक राजनीतिक, सामाजिक अवस्थाबारे तीखो टिप्पणी गर्ने मिश्रका ट्विटहरू पनि धेरै रिट्विट हुने गरेका छन् । मिश्रले ४५५ जनालाई फलो गरेका छन् ।
कमल थापा
नेता मात्र होइन, कमल थापा खेलाडीका रूपमा समेत स्थापित छन् । टेनिस खेलाडी थापाले देशका लागि केही स्वर्ण पदकसमेत भित्र्याएका छन् । तर उनको राजनीतिक व्यक्तित्व नै बढी चर्चामा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रहेका थापा ट्विटरमा पनि उत्तिकै सक्रिय छन् । उनका ५ लाख ९२ हजार ६३७ फलोअर छन् । थापाले २०१ जनालाई फलो गरेका छन् भने बुधबार दिउँसोसम्म ५ हजार २८४ ट्विट गरेका छन् ।
सन् २०१३ फेब्रुअरीबाट ट्विटरमा जोडिएका थापा देशमा स्थापित व्यवस्थाभन्दा फरक ‘हिन्दू राष्ट्र’ र राजतन्त्र पुनस्र्थापनको एजेण्डा बोकेर सक्रिय छन् । फरक कित्ताको नेता भएकाले पनि थापाप्रति धेरैको चासो ट्विटरमा देखिन्छ । उनले आफ्नो एजेण्डाका पक्षमा आएका लेख, समाचार र आफ्ना गतिविधिलाई प्रचार गर्न ट्विटरको राम्रै उपयोग गर्दै आएका छन् ।
केपी शर्मा ओली
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री हुन्, केपी शर्मा ओली । उनी पनि ट्विटरमा सक्रिय छन् । ओलीका ३ लाख ७४ हजार ४८९ फलोअर छन् । उनले भने ६६ जनालाई मात्र फलो गरेका छन् ।
सन् २०१४ सेप्टेम्बरबाट ट्विटरमा जोडिएका ओलीले बुधबार दिउँसोसम्म १ हजार २२१ ट्विट गरेका छन् । प्रधानमन्त्री र नेकपा अध्यक्षका रूपमा निकै व्यस्त रहँदा ओली आफैँले भने ट्विटर चलाउन नभ्याउने ओली निकट बताउँछन् । स्रोतका अनुसार उनको सचिवालयले नै सोसल मिडिया हेर्ने गरेको छ ।
योगेश भट्टराई
नेपाल कम्युनिष्ट पार्टीका चर्चित युवा नेता हुन्, योगेश भट्टराई । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद संसदमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिन्छन् । सन् २०१५ जनवरीबाट ट्विटरमा जोडिएका भट्टराईका २ लाख ६१ हजार ४७० फलोअर छन् । उनले १ हजार ९६२ जनालाई फलो गरेका छन् ।
नेकपाभित्र दोस्रो पुस्ताका नेतामध्ये प्रभावशाली मानिने भट्टराईले नयाँ सन्दर्भ आउनासाथ आफ्नो विचार ट्विटरमार्फत् व्यक्त गरिहाल्छन् । ‘विपरीत धार’मा पनि अडिएर विचार राख्ने र जमेरै वैचारिक प्रतिवाद गर्ने भएकाले ट्विटरमा उनलाई धेरैले फलो गरेका छन् ।
नारायणकाजी श्रेष्ठ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता हुन्, नारायणकाजी श्रेष्ठ । उनी पनि ट्विटरमा सक्रिय नेतामध्येमा पर्छन् । सन् २०१४ मार्चमा ट्विटरमा जोडिएका श्रेष्ठका २ लाख १६ हजार ५६४ फलोअर छन् । उनले हालसम्म ९४५ ट्विट गरेका छन् भने २९१ जनालाई मात्र फलो गरेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
लामो समय भूमिगत रहेका पुष्पकम दाहाल ‘प्रचण्ड’ सन् २०१५ मा ट्विटरमा जोडिएका हुन् । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डका २ लाख १४ हजार ७३२ फलोअर छन् । उनले २ जनालाई मात्र फलो गरेका छन् । छोरा स्वर्गीय प्रकाश दाहाल र नेकपा माओवादी केन्द्रलाई मात्र फलो गरेका छन् उनले । बुधबार दिउँसोसम्म उनले २ हजार ९४८ ट्विट गरेका छन् । उनले आफूसँग सम्बन्धित समाचारका लिंक, भाषणको भिडियो र आफू सहभागी तस्वीरहरू ट्विटरमार्फत् शेयर गर्दै आएका छन् ।
स्रोतका अनुसार राजनीतिक कार्यक्रममा धेरै व्यस्त रहने हुँदा प्रचण्ड आफैँ ट्विटर चलाउन भने भ्याउँदैनन् । दाहालको स्वकीय सचिव समेत रहेका छोरा प्रकाशले नै प्रचण्डको ट्विटर ह्याण्डल चलाउने गर्थे । उनको निधनपछि भने दाहालका सचिवालय सदस्यले सो ह्याण्डल चलाउने गरेका छन् ।
प्रदीप ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप ज्ञवाली हाल परराष्ट्रमन्त्री छन् । अध्धययनशील स्वभावका मानिने ज्ञवाली ट्विटरमा पनि सक्रिय छन् । ट्विटरमा उनका १ लाख ९७ हजार ९८८ फलोअर छन् भने १ हजार ४२७ जनालाई उनले फलो गरेका छन् ।
मन्त्री भएपछि आफू सहभागी कार्यक्रम र आफ्ना गतिविधि उनले ट्विटरमार्फत् पनि सार्वजनिक गरिरहेका छन् । तत्कालीन राजनीतिक घटनाक्रम ज्ञवाली ट्विट गरिहाल्छन् ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामाजिक सञ्जाल आफैँ चलाउँदैनन् तर उनको ट्विटर एकाउण्ट भने सन् २०१६ फेब्रुअरीमै खुलेको थियो । बहस, छलफल र विचार विमर्शमा अल्छी मानिने देउवाको ट्विटर पनि त्यति सक्रिय देखिँदैन ।
हालसम्म उनले जम्मा ४० ट्विट गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका र राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता भएकाले हुनसक्छ, उनका फलोअर भने राम्रै छन् । देउवाका ट्विटरमा १ लाख ८५ हजार १४७ फलोअर छन् । उनले भने १२८ जनालाई मात्र फलो गरेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५