भोजपुर : कुखुरा, बाख्रालगायतका पालुवा जनावरका लागि त खोर बनाएको हामीले देखेसुनेकै हो । तर बाँदरका लागि खोर ! अलि अचम्म लाग्न सक्छ, तर यथार्थ यही हो कि, यहाँ बाँदरका लागि खोर बनाइँदै छ । त्यो पनि एउटा÷दुइटा होइन, कैयौं ।
हो पूर्वी पहाडी जिल्ला भोजपुरका विभिन्न स्थानका किसानहरू धमाधम बाँदरका लागि बाँसको खोर बनाउन जुटेका छन् । तर, बाँदर पालन गर्न होइन, नियन्त्रण गर्न । बाँदरका कारण कृषकलाई अहिले बाली जोगाउनै समस्या हुन थालपछि यो योजनामा जुटेका हुन् ।
खेतबारीमा लगाएको बालीनाली बाँदर आएर नष्ट गर्ने भएपछि बाँदर नियन्त्रणका विभिन्न उपाय अपनाउनु किसानको बाध्यता बनिदियो । बाँदरका कारण बाली लगाउन समस्या, लगाएको बाली जोगाउन समस्या र बाँदरका कारण विस्थापित नै हुनुपरेको खबर सुन्दै आएका भोजपुरका कृषकहरू अहिले आफैँ पीडित बनेका छन् ।
बाँदरले दुख दिन थालेपछि बाँदर नियन्त्रण अभियानमा जुटेको कृषक हरि तामाङ बताउँछन् । उनले भने, ‘खेतबारीमा लगाएको अन्नबालीसमेत जोगाउन नसकेपछि भोजपुरका कृषक पनि बाँदर नियन्त्रणका लागि नयाँ तरिका अपनाउन थालेका हुन् ।’ बाँदरले अन्नबाली खाएर किसानलाई दुःख दिएपछि भोजपुर सदरमुकाम नजिक भोजपुर नगरपालिका ८ का कृषकहरू समेत अहिले बाँदर नियन्त्रणका लागि बाँसको खोर निर्माणमा लागेका छन् ।
कृषकले लगाएको अलैँची लगायत विभिन्न बालीबिरुवालाई बाँदरले हानी नोक्सानी गरेकाले कृषकहरू आफै मिलेर बाँदर नियन्त्रण गर्न खोर निर्माणमा जुटेको खोर निर्माणमा सहयोग गर्दै आएका कृषक नवीन प्रधान बताउँछन् । उनले भने, ‘भोजपुर नगरपालिका ८ को पोखरेमा पनि बाँदर नियन्त्रणका लागि खोर निर्माण गरिएको छ ।’
जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकामा भने बाँसको खोर बनाएर बाँदर नियन्त्रण अभियान सुरु भइसकेको छ । गाउँपालिकाकै सहयोगमा गाउँलेहरू मिलेर बाँसको भाटा र चोयाको खोर बनाएर बाँदर थुन्ने अभियान थालेका छन् । ‘अहिले प्रयोगमा ल्याइएको पासोमा वरिपरिबाट बाँसको भाटाको बारा लगाएर माथिबाट बाँसकै छानो लगाइन्छ । बाँदरलाई त्यहाँभित्र पसाउनका लागि माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाइ छिर्ने ठाउँ राखिन्छ । मकै तथा अन्य खानेकुराहरू खोरभित्र राखिन्छ । खानेकुराका लागि भित्र पसेको बाँदर बाहिर निस्किन सक्दैन’, स्थानीय कृषकहरू बाँदर नियन्त्रणको अभियानका बारेमा भन्छन् ।
सबै छिमेकीहरू मिलेर त्यस्ता खोर बनाउने अभियान गाउँमा नै चलाएको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ कोटका वडाअध्यक्ष सूर्यप्रसाद नेपाल बताउँछन् । ‘जनताको जीविकासँग प्रत्यक्षसँग गाँसिएका यस्ता विषयमा हामीले ध्यान दिएनौँ भने भोलि गाउँ नै रित्तिने सम्भावना छ,’ अध्यक्ष नेपाल भन्छन् ।
गाउँपालिकाको कोटबाट सुरु अभियान जिल्लाका अन्य ठाउँमा पनि सुरु गरिने गाउँपालिकाले जनाएको छ । कोटमा ४० देखि ५० वटसम्म खोर बनाउने र यसलाई अन्यत्र पनि विस्तार गर्दै लैजाने योजना रहेको टेम्के मैयुम गाउँपालिका प्रमुख ध्रुवराज राईको भनाइ छ ।
खोरमा १० देखि १५ वटासम्म बाँदरहरू एकैपटक आएर पर्ने गरेको स्थानीयवासी केदार नेपालले
बताए । पहिल्यैदेखि किसानलाई बाँदरले दुःख दिएको गुनासो आइरहे पनि अहिले मात्रै टेम्केमैयुङ गाउँपालिका बाँदर नियन्त्रणका लागि योजनाबद्ध ढंगले अगाडि बढेको हो ।
आफूले वर्षभरि खान राखेको अन्नबाली बाँदरले खाने तथा क्षति पु¥याउन थालेपछि रामप्रसाद राई गाउँपालिका ४ दलगाउँ र पौवादुम्मा गाउँपालिका ४ बास्तिम नजिकैको लेखगाउँका पुरै बस्ती नै बसाइँ सरेका छन् । भोजपुरमा स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाइएको यो पासोलाई व्यापक गर्न सके बाँदरले दिएको दुःखले आजित बनेका कृषकहरूले राहत पाउन सक्ने कोटका स्थानीय गोकुलबहादुर थापा बताउँछन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५