काभ्रेपलाञ्चोक : नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । आजको प्रतिस्पर्धामा एपीएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको ३०औंँ मिनेटमा एपीएफ क्लबका महेश लामाले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट नबित्दै एपीएफ क्लबका हरि कार्कीले अर्को गोल थपे ।
निकै आक्रामक रूपमा प्रस्तुत दुवै टोलीले मध्यान्तरपछिको खेलमा भने कुनै गोल गर्न सकेनन् । आजको खेलमा एपीएफ क्लबका गोलकिपर राजु नगरकोटीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । बुधबारको अर्को सेमिफाइनल खेल सङ्कटा ब्याइज क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।
छवटा ए डिभिजन क्लबसमेतको सहभागितामा जिल्लामा २५ वर्षपछि भएको फुटबल प्रतियोगितामा १० टोली सहभागी छन् ।