विराटनगर : २०७० चैत १७ गतेदेखि २०७१ बैशाख १९ गतेसम्म सुनसरीको चतरामा महाकुम्भ मेलाको आयोजना गरिएको थियो । त्यतिबेला सरकारले नै मेलाको सफलताका लागि आयोजकलाई ५० लाख रुपैयाँ प्रदान गरेको थियो । नेपाल सरकारका तत्कालीन सचिव कृष्णहरि बाँस्कोटा मेला सफल पार्न आफैँ कम्मर कसेर लागेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुम्भमेलाको उद्घाटन गरेका थिए।
एक करोड धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसाथ आयोजना गरिएको त्यो महाकुम्भ मेला सफल मात्र भएन, आयोजक संस्था राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठानले नेपालको एक धार्मिक स्थललाई विश्वभर चिनाएर स्याबासी समेत कमायो । नेपालमा पहिलो पटक आयोजना गरिएको सो मेलालाई देशका शीर्ष राजनीतिक दलका नेताले समेत उत्तिकै साथ दिए । समय मिलाएर धेरै नेताहरू मेलामा सहभागी बन्न चतराधाम नै पुगे ।
त्यही बेलादेखि नेपालकै पहिला जगतगुरु अनन्तश्री विभूषित बालसन्तको प्रशंसा मात्र हुन थालेन, उनको नामले पनि उत्तिकै चर्चा पायो । मेला सफल पार्नुमा जगतगुरु बालसन्तको मात्र हात थिएन, स्थानीय आयोजक, नेपाल सरकार र जगतगुरु बालसन्तकै सहयोगीको रूपमा स्थापित श्री १००८ श्री कृष्णदासजी महाराजको सहयोग पनि उत्तिकै थियो । एक धार्मिक शक्तिको रूपमा उदाएका जगतगुरु बालसन्तले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको हातबाट उद्घाटन गराएर मेलाको महत्त्वलाई उचाइमा पुर्याएका थिए ।
सप्तकोसी नदी किनारमा रहेको प्रचीन चतराधाममा बालसन्तले २०५१ सालमा प्रतिष्ठान स्थापना गरेर धार्मिक अभियानको सुरुवात गरे । त्यसबेला माओवादी द्वन्द्वले सबैतिर छाएका थियो । हरेक चुनौतीलाई सामना गर्दै बालसन्तले आफ्नो अभियानलाई जारी नै राखे । त्यो बेला बालसन्तको नाम एकछत्र रहेको थियो । आफूलाई सहज हुने अपेक्षासहित भारतको कुनै धार्मिकस्थलबाट बालसन्तले कृष्णदासजी महाराजलाई नेपाल बोलाए । जडिबुटीदेखि लिएर हरित क्रान्तिको क्षेत्रमा अब्बल ठान्दै बालसन्तको आग्रहमा चतरा आएका कृष्णदासजीले धार्मिक तथा अध्यात्मिक क्षेत्रमा कामसमेत गर्दै गए ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नाममा रहेको जमिनमा आश्रम खोलेर बसेका दुवै धर्मगुरु आआफ्नै ढंगबाट धार्मिक जागरणमा सक्रिय भए । छ वर्ष पहिले महाकुम्भ मेलामा सक्रिय तिनै कृष्णदासजी महाराजले गत माघ २७ गतेदेखि फागुन ७ गतेसम्म सोही स्थानमा करोडौँको बजेटमा अर्को मेला लगाए । यो छ वर्षको अवधिमा आइपुग्दा आफ्नै अगुवाइमा कृष्णदासजीले महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठानसमेत गठन गरिसकेका थिए । त्यही प्रतिष्ठानको ब्यानरमा विश्वमै दुर्लभ मानिएको भन्दै श्रीराम तारकब्रह्म महायज्ञको आयोजना गरिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको तारकब्रह्म महायज्ञ नेपालमा पहिलो पटक भएको बताइएको थियो । महायज्ञमा राष्ट्रपति भण्डारी मात्र होइन, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले समेत उपस्थिति जनाएका थिए । कार्यक्रममा कृष्णदासजी महाराजले हरित क्रान्तिको समेत घोषणा गरेका थिए । यत्तिको महत्त्वको धार्मिक महायज्ञमा चतुः सम्प्रदायका जगतगुरुसहित विद्वानहरूको सहभागिता थियो । तर कृष्णदासजीलाई नेपाल आउन प्रेरित गर्ने जगतगुरु बालसन्त महाराजको भने उपस्थिति नै थिएन ।
तारकब्रह्म महायज्ञको उद्घाटनको क्रममा पटक पटक उद्घोषकले जगतगुरु बालसन्त महाराजलाई उपस्थितिका लागि आग्रह गरेका थिए । तर उनी न उद्घाटन कार्यक्रममा सहभागी भए, न त कृष्णदासजी महाराजले आयोजना गरेको सो महायज्ञलाई सहयोग नै गरे । भारतको वृन्दावनबाट आएका भागवत शरण महाराजले आजको न्युजसँग भने, ‘खै, उहाँहरूको बीचमा के भएको हो तर धेरैपल्ट बालसन्त महाराजलाई बोलाउँदा उहाँ आउनुभएन ।’
आफू जगतगुरु हुँदाहुँदै छुट्टै शक्तिको रूपमा उदाएका कृष्णदासजी महाराजको कार्यबाट असन्तुष्ट हुँदै गएका बालसन्तले उनलाई सहयोग गर्ने कुनै कुरै थिएन । निम्बार्क समुदायका प्रथम जगतगुरु बालसन्तलाई काशी पण्डित सभाले जगतगुरुको उपाधि दिएको थियो । जगतगुरुको ओज बुझेका कृष्णदासले आफूलाई पनि त्यही बाटो पछ्याउँदै गए र आफ्नै धार्मिक प्रतिष्ठानको स्थापना गरे ।
आफ्नो अध्यात्मिक शक्ति, प्रवचनलगायतको विषयमा देशभर सञ्जाल विस्तार गर्दै गएका कृष्णदासजी महाराजका अनुयायी र भक्त पनि धेरै बन्दै गए । २०७३ सालतिर यिनै कृष्णदासजी महाराजले पोखरामा नौ दिनका लागि भूसमाधिमा बसेर सबैको ध्यान आफूतिर केन्द्रित गरे । काठको बाकसमा नौ दिनसम्म जमिनमुनि गाडिएर भूसमाधिमा बसी जीवित सकुशल बाहिर निस्केको खबर धेरै सञ्चार माध्यममा समाचार बन्यो ।
उनकै पहलमा भएको श्रीराम तारकब्रह्म महायज्ञमा नौ तले मण्डपभित्र रहेका १०८ हवन कुण्डमा १२ सय साधक साधिकाले एकसाथ एक अर्ब ६० करोड मन्त्र जापसहित १६ करोड हवन गरेका थिए । यो अवस्थासम्म आइपुग्दा उनको संस्था श्री रामानन्दाचार्य सेवा प्रतिष्ठान चतराधाम विश्वकै पहिलो श्रीराम तारकब्रह्म पिठमा रूपान्तिरत भइसकेको थियो । १० दिनसम्म चलेको महायज्ञमा उपस्थित चतुः सम्प्रदायका जगतगुरुसहित विद्वान् तथा हिन्दु धर्मका प्रभावशाली व्यक्तिहरूले सिद्धबाबा डा. कृष्णदासजी महाराज जगतगुरुको उपाधि दिएका थिए ।
हिन्दु धर्ममा जगतगुरुको महत्त्व ज्यादै रहेको छ । जगतगुरु बन्नका लागि पिठको आवश्यकता पर्छ । अहिले चतराधाममा एकै स्थानमा दुईवटा पिठ छन्, जुन पिठमा दुईवटा जगतगुरु रहेका छन् ।
आफैँले ल्याएर स्थापित गरेको व्यक्ति आफैँलाई चुनौती दिँदै जगतगुरु बनेबाट मुर्मिरिएका जगतगुरु बालसन्त महाराज अहिले हरेक छ वर्षमा हुने अर्धकुम्भ मेलाको तयारीमा जुटेका छन् । कहिले राजनीतिक व्यक्तित्व त कहिले सञ्चार माध्यमहरूमा आउजाउ गरिरहेका बालसन्तले यही चैत २३ गतेबाट सुरु हुने अर्धकुम्भ मेलाको प्रचारमा जुटेको जनाएका छन् ।
यता, भर्खरै जगतगुरुबाट विभूषित सिद्धबाबा कृष्णदासजी महाराज आफ्नै सम्मानमा भइरहेको विभिन्न कार्यक्रममा सहभागी बन्न देश दौडहामा छन् । उनी अहिले जगतगुरुको पद्वी पाएसँगै सिद्धबाबा डा. कृष्णदासजी महाराज जगतगुरु रामानन्दाचार्य बनेका छन् । ठ्याक्कै विपरीत धु्रवमा रहेका दुवै धर्मगुरुबीचमा पानी बराबारको स्थिति मात्र छैन, एकअर्काको सहयोगसमेत लिँदैनन् । दुवैलाई नजिकबाट बुझ्नेहरू उनीहरूबीचमा बोलचालसमेत नहुने गरेको बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५