काठमाडौं : सरकारले चैत १५ गते बाट शुरु हुने दुई दिने लगानी सम्मेलनमा फोहोर व्यवस्थापनमा मात्र साढे ७३ अर्ब लगानी आव्हान गर्ने भएको छ । सम्मेलनका लागि लगानी बोर्डले बनाएको सूचीअनुसार फोहोर व्यवस्थापनमा ६ वटा परियोजना तयार गरिएको छ । जसमा साढे ७३ अर्ब लगानी आह्वान गर्ने तयारी गरिएको छ ।
रत्ननगर फोहोरमैला ५० करोड ५० लाख, धुलिखेल फोहोरमैला ४७ करोड ३० लाख, जीतपुर फोहोर व्यवस्थापन ९१ करोड ३० लाख, बुटवल फोहोर व्यस्थापन ९५ करोड ५० लाख र जनकपुर फोहोर व्यवस्थापनका लागि ७० अर्ब ४० करोड रुपैयाँको परियोजना सम्मेलनमा प्रस्तुत हुँदैछ । सम्मेलनमा सरकारी र निजी गरेर कूल ६३ परियोजना प्रस्तुत हुँदैछ । जसका लागि ३० खर्ब ५० अर्ब रुपैयाँ लगानी आह्वान गरिँदैछ । त्यस्तै, प्रदेश ३ को राजधानी हेटौडामा स्मार्ट सिटी निर्माणका लागि ३.३० अर्ब र लुम्बिनी स्मार्ट सिटीका लागि ४.२९ अर्बको परियोजना तयार गरिएको छ । भक्तपुमा सम्मेलन केन्द्र निर्माणका लागि १ अर्ब ७६ करोडको प्रस्ताव तयार पारिएको छ ।
नेपालले दोस्रो पटक आयोजना गरेको लगानी सम्मेलनमा लगानीको अवसर, आर्थिक परिवर्तनका लागि ऊर्जा उत्पादन, सूचना तथा सञ्चार प्रविधिका विषयमा सत्रहरू संचालन गरिने छ। पर्यटनः मनोरञ्जन तथा धार्मिक पर्यटनका लागि गन्तव्य विकास, उद्योगः औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना, यातायात पूर्वाधारः दिगो यातायात पूर्वाधार निर्माण लगायतका विषयमा छलफल समेत हुनेछ ।
सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिवद्धता आएको थियो । जसमा हालसम्म ८२ अर्ब रुपैयाँमात्रै वैदेशिक लगानी भित्रिएको छ । यसपटक सरकारले ६६ आयोजनामा ३० खर्ब ५० अर्ब रुपैयाँको प्रस्ताव लगानीकर्तासँग प्रस्तुत गर्ने तयारी गरेको छ ।
चीनबाट धेरै लगानीकर्ता आउने
लगानी बोर्डका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा ४० वटा देशबाट ६ सय २० विदेशी लगानीकर्ताले आउने प्रतिवद्धता जनाइसकेका छन् । बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी देश चीनबाट लगानीकर्ता आउँदैछन् । चीनबाट चीन २१० लगानीकर्ताले सम्मेलनमा आउने प्रतिवद्धता जनाइसकेका छन् भने अर्को छिमेकी भारतबाट ११०, म्यानमारबाट २८ र जापानबाट २० लगानीकर्ता आउँदैछन् । दक्षिण कोरियाबाट १५, ओमान १३ अमेरिका ११, श्रीलङका १० र अन्य राष्ट्रबाट ११० लगानीकर्ताले सम्मेलनमा भाग लिने प्रतिवद्धता जनाइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५