दमौली : तनहुँको भिमाद नगरपालिका– ९ का दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी नौ आना जग्गा दान गरेका छन् ।
खेल मैदानसहित पार्क निर्माणका लागि थापाले करिब १० लाख रुपैयाँ बराबरको जग्गा खरिद गरी पाथर्दी गाउँलाई दान गरेका हुन् ।
काठमाडौंमा अपार्टमेन्टको व्यवसाय गर्दै आएका उनले आफ्नो गाउँको विकासका लागि खेल मैदान बनाउन जग्गा सहयोग गरेको बताए । उनले भने, पाथर्दी गाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यसहित खेल मैदान र पार्क निर्माण गर्ने लक्ष्य राखिएको रहेछ । सोही लक्ष्यलाई पूरा गर्न मैले जग्गा सहयोग गरेको हुँ ।
पाथर्दी गाउँमा पर्यटक भित्र्याउने उद्देश्यसहित घरबाससमेत सञ्चालन भइसकेको छ । गाउँपालिकाको ९ नं. वडा गण्डकी प्रदेश सरकारले छनोट गरेको मुख्यमन्त्री नमुना कृषि गाउँको रूपमा समेत छनोट भएको छ । पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले आफ्नो गाउँको विकासका लागि थापाले गरेको सहयोग उदाहरणीय रहेको बताए ।
उनका अनुसार उक्त जग्गामा टेबल टेनिस, भलिबल, फुटसललगायतका खेल खेल्न मिल्ने संरचना बनाउने लक्ष्य राखिएको छ । साथै गाउँमा आउने पर्यटकलाई भुलाई राख्न व्यवस्थित पार्क निर्माणको योजनासमेत बनाइएको छ । उनले भने, यस गाउँमा आउने पर्यटकलाई लक्षित गरी पार्कसहितको खेल मैदानको योजना अगाडि सारेका छौँ ।
वडा अध्यक्ष इमान थापाले खेल मैदानसहितको पार्क निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिने बताए । उनले भने, स्थानीयबासीको लगानीमा यति ठूलो योजना सम्पन्न गर्न सम्भव छैन, त्यसैले प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा छौँ ।
- रासस