विराटनगर : सर्वाेच्च अदालतको फैसला कार्यावन्यन नगरेको भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरले यहाँको तारे होटल रत्नाको विद्युत् लाइन काट्न निर्देशन दिएको छ । मजदुर तथा कर्मचारीले पाउनुपर्ने तलब भुक्तानी गर्न अदालतले दिएको फैसलाप्रति आलटाल गरेको जनाउँदै सो कार्यालयले होटलको बिजुली सेवा विच्छेद गर्न दोस्रोपटक ताकिता गरेको हो ।
‘विद्युत् कार्यालयमा हामीले धेरै अगाडि नै पत्र लेखिसक्या हौँ । तर अहिलेसम्म विद्युत् चालू नै भएको पाइयो’, श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आजको न्युजसँग भने, ‘फेरि हामीले त्यो होटलको लाइन काट्न ताकिता गरेका छौँ ।’ होटल रत्ना विराटनगरको पुरानो तथा प्रतिष्ठित चार तारे होटल हो । सो समूहले धनकुटाको हिलेमा होराइजन नामक रिर्सोट पनि सञ्चालन गर्दै आएको छ ।
रामेश्वर श्रेष्ठ, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्काले होटलले आफूहरूलाई बिनाकारण कामबाट हटाएको जनाउँदै श्रम कार्यालय विराटनगर हुँदै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले असार २७ गते श्रमिमको न्यूनतम पारिश्रमिक नियमअनुसार भुक्तानी गर्न आदेश दिएको थियो । श्रम अदालत काठमाडौं समेतले २०६९ असार २२ गते मजदुरको तलब भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो ।
श्रम अदालतको फैसला कार्यान्वयन नभएपछि मजदुरहरू सर्वाेच्च पुगेका थिए । सर्वोच्चमा उत्प्रेषणयुक्त परमादेश मागसहित परेको रिटमा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले श्रम अदालतको फैसला सदर गरी कार्यान्यन गर्न श्रम कार्यालय विराटनगरमा पठाएको थियो । अदालतको फैसला कार्यान्वयन गराउन श्रम कार्यालय विराटनगरले होटललाई पटकपटक आग्रह गरेको थियो । तर होटलले अटेर गरेपछि विद्युत् आपूर्ति बन्द गर्न प्राधिकरणलाई पत्र काटेको थियो ।
प्राधिकरणले समेत कार्यालयको पत्रमा कुनै ‘रेस्पोन्स’ नगर्दा ताकिताको विकल्प नभएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलको भनाइ छ । गत फागुनमा पनि विद्युत् आपूर्ति बन्द गर्न पत्र पठाइएको थियो ।
विद्युत् आपूर्ति बन्द गर्न पत्राचार गर्नुअघि श्रम कार्यालयले गत फागुन १२ गते बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले होटल रत्नाको चारवटा बैंक खाता रोकेको बताइएको छ । गत साता मात्र श्रम कार्यालयले होटल सञ्चालक र मजदुर दुवै पक्षलाई बोलाएर फैसला कार्यान्वयनको पहल गरेको थियो । मजदुर पुगे पनि होटल सञ्चालक रेवतबहादुर थापा कार्यालय नपुगेपछि विषय त्यत्तिकै थाती बसेको थियो ।
होटलले उप्रेती, खड्का र गुरुङलाई नियमअनुसार पारिश्रमिक बापत १३ लाख ९६ हजार तीन सय ५५ रुपैयाँ भुक्तान गर्नुपर्ने छ भने बुढाथोकीले ३० लाख ६२ हजार रुपैयाँ पाउनुपर्ने छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५