भोजपुर : इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने सुनेका भोजपुरका कृषकले अब जिल्लामा व्यवसायिक रूपमै चिया खेती सुरु गरेका छन् ।
भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामीण भेगका कृषकहरूको जीवनस्तर उकास्ने लक्ष्यका साथ चिया खेती विस्तार कार्यक्रम सुरु गरेपछि कृषक पनि चिया खेतीप्रति आकर्षित हुँदै गएका छन् ।
सिंगो गाउँपालिकाको आर्थिक उन्नति र पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यले करिब दुई सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गामा चिया खेती विस्तार गरिएको हो । उपयोगमा नआएर खेर गइरहेका खर्क, चउर, डाँडामा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत नै चिया लगाएर गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जनका क्षेत्रमा सबल बनाउने तयारीका साथ खेती विस्तार गरिएको आमचोक गाउँपालिकाले जनाएको छ ।
चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरी अगाडि बढाउन सकेमा गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्न सकिने बालंखाका कृषक राजिनकुमार राई बताउँछन् । ‘रोजगारीका लागि विदेसिने गाउँलेका लागि गाउँपालिकाले थालेको यो एउटा राम्रो आयमूलक कार्यक्रम हो’, उनले भने, ‘गाउँमै चिया उद्यमी बन्न सके घरमै बसीबसी आर्थिक उपार्जन गर्न पनि सहज हुन्छ । चियालाई व्यवस्थित रूपमा प्रबद्र्धन गर्दा बाह्य पर्यटकको आगमन गराउन पनि सक्ने देखिन्छ ।’
गत आर्थिक वर्ष ०७४÷७५ को पहिलो परिषद्बाट चिया तथा कफी खेती विस्तार शीर्षकमा विनियोजित ७५ लाख बजेटले गतवर्ष नै खालि खर्कहरूमा एक लाखभन्दा बढी चियाको बिरुवा नर्सरी गरिएको थियो । यो वर्ष पनि गाउँपालिकाले दोस्रो परिषद्बाट सोही योजनाका लागि ४२ लाख रुपैयाँ छुट्याएको छ । जसमा निजी चिया कृषकलाई पनि चियाको नर्सरी राख्न प्रोत्साहन गराउँदै यो वर्ष पहिलेका दुई नर्सरीमा थप गरि चार नर्सरी ब्लग थपेर १५ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने योजना थालिएको छ ।
बाहिरी जिल्लाबाट नर्सरी गरिएका बिरुवाका डाली ल्याउन मंहगो पर्ने भएपछि दुई नर्सरी ब्लग बनाएर छ लाखभन्दा बढी बिरुवा नर्सरी राखिएको चिया तथा कफी विकास बोर्ड आमचोक गाउँपालिका बालंखाका अध्यक्ष दीपक राईले बताए । उनका अनुसार उक्त बिरुवाबाट यो वर्ष करिब चार लाख हाराहारीमा बिरुवा उत्पादन हुने अड्कल गरिएको छ । अहिले उक्त नर्सरी रेखदेख, नर्सरी लगाउने, चियाको नर्सरी पत्ती तयार गर्न, तुसारोबाट जोगाउन स्याउलाले छोप्ने, गोडमेल गर्ने १६ जना कामदारलाई प्रतिदिन पाँच सय ५० रूपैँया ज्याला दिएर काम लगाइएको छ ।
गाउँमै व्यावसायिक चियाखेती प्रबद्र्धन हुने भएपछि स्थानीय कृषक उत्साहित देखिएका छन् । चियाखेतीमा आश्रित बनेर व्यावसायिक आम्दानीको स्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चियाखेतीमा उत्साह छाएको कृषक दिक्पाल राईले बताए । भने, ‘यत्रो वर्षसम्म दुःखले वर्षभरि उब्जाएको अन्नले परिवार नधानेपछि विदेसिनेबाहेक अरू कुनै विकल्प थिएन । गाउँमै उद्यमी बनाउने चियाखेतीको प्रबद्र्धनले नयाँ आस, नयाँ जाँगर थपेको छ ।’
यसअघि गाउँपालिकाले चिया विकास संस्था नाममा स्थानीय सरकारले नै चलाउने गरी नीति बनाए पनि संघीय सरकारले स्थानीय सरकारको हकमा संस्था सञ्चालन हुने किसिमको कुनै ऐन नभएकाले संस्थागत रूपमा लैजाने तयारी रोकिएको थियो । पछि सोही चिया खेतीका लागि उपभोक्ता समिति गठन गरेर नेपाल सरकार तथा सार्वजनिक प्रतिनिधिको रूपमा चिया खेतीको सुरुआत गरिएको थियो ।
गाउँपालिकाले पनि कानुनी रूपमा दर्तावाल नै चियाको सहकारी खडा गरेर गाउँपालिकाभरका करिब चा हजार घरपरिवारलाई शेयर दिई सहकारीको घाटा–नाफामा उनीहरूको अधिकार हुने गरी चियाखेतीमा व्यावसायिक बनाउने योजना रहेको बताएको छ ।
पर्यटन प्रबद्र्धनसँगै गाउँपालिकाको आर्थिक आय बढाउन, सार्वजनिक जग्गाभरि, खुला खर्क, चउरलाई पनि सुन्दरता थप्ने, रोजगारी सिर्जना गर्न पनि चिया खेतीको विस्तार गरिएको गाउँपालिका अध्यक्ष अशोक राई सुनाउँछन् ।
‘सार्वजनिक जग्गामा पर्ने खर्क, डाँडा, चउरहरू त्यसै खेर गएका छन् । ती क्षेत्रलाई यसै छाड्नुभन्दा चिया खेतीलाई प्रबद्र्धन गरे आर्थिक उन्नति हुने, जनताले रोजगारी र बाह्य पर्यटकलाई पनि ल्याउन सकिने सोचेर यो कार्यक्रम सुरु ग¥यौँ’, अध्यक्ष राईले भने, ‘वातावरणीय स्वच्छता थप्नुका साथै चियाखेतीबाट सिंगो गाउँपालिकालाई बहुआयामिक बनाउन पनि मद्दत पु¥याउने हाम्रो लक्ष्य हो ।’
सुरुआती अवस्थाबाटै गाउँपालिकाका सार्वजनिक खुला जग्गामा चिया खेतीका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग सहकार्य गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५