काठमाडाैं : माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।
एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ ।
प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किएका छन् । कतिपय ठाउँमा भाषागत त्रुटि पनि छन् ।
देशभर ४ लाख ७५ हजार विद्यार्थीले एसईई दिइरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पनि त्रुटि भएको स्वीकार गरेको छ । त्रुटि र अस्पष्ट भएका प्रश्नबारे सकभर परीक्षा केन्द्रमा जानकारी गराइएको उपनियन्त्रक चेतनाथ शर्माले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५