खाँदबारी :आइतबार सुरु भएको विद्यालय स्तरको एसईई परीक्षामा पूर्वको संखुवासभामा आमाछोरा एउटै परीक्षा केन्द्रमा सामेल भएका छन् ।
संखुवासभाको शारदा मावि पोखरीमा अध्ययनरत आमा दुर्गामाया तामाङ र छोरा सोनाम तामाङ सरस्वती मावि चैनपुर परीक्षा केन्द्रबाट परीक्षामा सामेल भएको सरस्वती मावि चैनपुरका केन्द्राध्यक्ष गोविन्दमान तामाङले जानकारी दिएका छन् । संखुवासभामा १५ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ ।
संखुवासभा जिल्लाबाट दुई हजार छ सय ७६ जना परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा केन्द्रमध्ये बागेश्वरी मावि ढुंगेधारा खाँदबारीमा प्राविधिक धारतर्फ ७१ जना, इन्जिनियरिङमा ३० जना र बाली विज्ञानमा ४१ जना परीक्षार्थीहरू सम्मिलित छन् । यसैगरी ग्रेडवृद्धि पुरानोतर्फ २६ जना परीक्षामा सामेल भएका छन् भने ग्रेड वृद्धि नयाँका निमित्त १४ जना परीक्षार्थी परीक्षामा सामेल भएका शिक्षा समन्वय इकाई संखुवासभाका प्रमुख केशवप्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५