भोजपुर : भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिका–५ र ६ मा विद्युत् विस्तार परियोजना अन्तर्गत आर्थिक वर्ष २०७३/०७४ मा नगरपालिकाको बजेटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दस जनाविरुद्ध विशेष अदालतमा बिगो दाबीसहित आरोप पत्र दर्ता गराएको छ ।
विद्युत् परियोजनाका लागि विनियोजित रकम काम सम्पन्न नभई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय प्रमुखसहित १० जनाविरुद्ध दुई करोड ७९ लाख २७ हजार पाँच सय ७९ रुपैयाँ ७४ पैसा बराबरको बिगो दाबीसहित विशेष अदालतमा आइतबार आरोपपत्र दायर गरेको हो ।
षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर विमल राई, असिस्टेन्ट सब इन्जिनियर महेश कार्की, अनुगमन समिति सदस्य तथा वडा नम्बर ८ का वडाध्यक्ष किशोर किराँत, विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ (श्रेष्ठ) र संयोजक हेमकुमार श्रेष्ठलाई जनही २८ लाख ९५ हजार पाँच सय आठ रुपैयाँ ८६ पैसा बिगो तोकिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दायर गरेको पत्रमा उल्लेख गरिएको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार षडानन्द नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक मणिराम तामाङलाई भने १८ लाख ६८ हजार रुपैयाँ बिगो तोकिएको छ । विद्युत् विस्तार परियोजनाको १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुटो प्रतिवेदन तयार पारी रकम भुक्तानी समेत लिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५