अछाम ः मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एन्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भइरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घिउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यवहारले सबैलाई मोहित बनाउँछ ।
कुनैबेला गोरप्रसादले २४ सै घण्टा मदिरा सेवन गरेर घरमा आएर झगडा गर्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उनको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । ८ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रूपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरू दङ्ग छन् । होटलसँगै डेरी उद्योगसमेत सञ्चालन गरेका हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गरेका छैनन्, व्यवसायमार्फत जीवनलाई नै कायापलट गरेका छन् ।
विगतका वर्षहरूमा मदिरा सेवन गर्ने गरेकै कारण झगडा भइरहने हरिकला र गोरप्रसादको परिवारमा वर्तमान भने व्यावसायिक रूपमा सफल र सामाजिक रूपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै मुख्य कारण भएको उनीहरू बताउँछन् ।
अभाव, दबाब र सामाजिक अपहेलनासँगै २२ वर्ष अघिदेखि सामान्य रूपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमान्सँग लड्दाका कठिन क्षण सम्झँदै हरिकलाले भनिन्, ‘पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमान्ले पनि साथ दिन त कता कता मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नुहुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छु ।’ मदिराको लतमा लागेर बिग्रिएका श्रीमान्लाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताइन् । अहिले श्रीमान्ले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरू सफल भएको हरिकलाको भनाइ छ ।
उनी भन्छिन्, ‘श्रीमान्ले रक्सी छाडेपछि धेरै राम्रो भयो । रक्सी छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको ।’ नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ ।
श्रीमान्को साथ नपाएकी र गाउँ, समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भनिन्’ ‘मेरो विगतको सङ्घर्षको परिणामस्वरूप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रूपमा पनि सफल भएकी छु । ८ वर्षदेखि श्रीमान्ले पनि रक्सी छोडेर मलाई डटेर साथ दिनुभएपछि झनै हौसला बढेको छ । श्रीमान्ले रक्सी खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमान्को व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुपर्यो । हिजो खिसिटिउरी गर्नेहरू भने आज उनका प्रशंसक भएका छन् ।
उनी भन्छन्, ‘मेरो सङ्घर्षको कथा मजस्तै पीडित हुनेहरूलाई पनि भनिरहेकी छु, महिलाहरूले पनि समाजलाई राम्रो बनाउन सक्छन् भनेर । हिम्मत नहारी निरन्तर सङ्घर्ष गर्यौं भने अवश्य सफल भइन्छ ।’ अरू महिलालाई पनि सकारात्मक भएर अघि बढ्न र आफ्नो लक्ष्यबाट नडगमगाउन उनी सुझाव दिन्छिन् ।
उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रूपमा दरो साथ दिइरहेका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सी सिसीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मान्नुहुन्न । ८ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद ३ वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बनेका छन् । उनी भन्छन्, ‘मैले मदिरा छोडेको ८ वर्ष भइसक्यो । अहिले पसलमा कुनै ग्राहकले रक्सीको बिर्को खोलिदिनुस्भन्दा पनि खोल्न सक्दिनँ भन्छु । नखाने मान्छेलाई बिर्कोसमेत खोल्न मन लाग्दो रहेनछ ।’
अभाव र सङ्गतका कारण मान्छे कुलतमा फस्ने गरेको उनको भनाइ छ । आफ्नो नराम्रो बानीबारे उनले भने, ‘पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै । तर मदिरा छोडेर काम गर्दा अहिले जमिन आकाशको फरक पाएँ । मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ । समाजको पनि अगुवाजस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे ।’
पहिले मदिराका पारखी गोरप्रसाद अहिले भने यसले कसैलाई पनि फाइदा नगर्ने बताउँछन् । जाँड, रक्सी खाने लत बसेकाहरूलाई पनि छाड्न सुझाव दिन्छन् र भन्छन्, ‘रक्सी छोड्नु भनेको त केही पनि रहेनछ । हजुरले आज खानुभएन, भोलि खानुभएन । हुँदाहुँदा १ महिना खानुभएन, वर्षदिनसम्म खानुभएन भने यो आफैं छुट्दो रै’छ त ।’
छोराछोरीको पढाइलेखाइ मात्रै नभई होटल र डेरीमा अन्य ४ जनालाई भण्डारी दम्पतीले रोजगारीसमेत दिएका छन् । उनीहरूलाई १५ देखि १८ हजार रुपैयाँसम्म मासिक तलब दिइरहेको गोरप्रसादको भनाइ छ । ४ सन्तानमध्ये १ छोरी अनमी पढेर जागिर गर्छिन् भने १ छोरी स्टाफ नर्स पढिरहेकी छन् । छोरा बिएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने कान्छी छोरी पनि काठमाडौंमा बोर्डिङ स्कुल पढिरहेकी छन् । छोराछोरीको पढाइ खर्च मासिक २ लाख रुपैयाँसम्म आउने गरेको पनि उनले बताए ।
मदिराले स्वास्थ्य बिगार्नुका साथै धन नाश गर्छ । त्यसमाथि सामाजिक रूपमा बहिष्कृत र लज्जित हुनुपर्ने त छँदै छ । महिला हिंसा र घरेलु हिंसाको प्रमुख कारकका रूपमा रहेको मदिरालाई त्याग्दा नै जीवनमा सफलता र खुसी मिल्छ भन्ने शिक्षा हरिकलाको सङ्घर्षबाट सिक्न सकिन्छ । -रासस
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५