काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । आईपीएलको १२ औं संस्करणको आफ्नो पहिलो खेलमा दिल्लीले मुम्बईमाथि ३७ रनका जित निकालेको हो ।
मुम्बईको वाङ्खडे रंगशालामा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको मुम्बई १९ दशमलव २ ओभरमा १ सय ७६ रनमा अलआउट भयो ।
मुम्बईका लागि युवराज सिंहले सर्वाधिक ५३ रन जोडे भने कुर्नाल पान्ड्याले ३२ तथा डेककले २७ रनको योगदान दिए । दिल्लीका इशान्त शर्मा र कागिसो राबडाले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ऋषब पन्तको तुफानी ब्याटिङका मद्दतमा २१३ रनको विशाल योगफल तयार पारेको थियो ।
२७ बलको सामना गरेका उनले ७ चौका र ७ छक्कासहित ७७ रन बनाए । यस्तै कोलिन इन्ग्रामले ४७ र शिखर धवनले ४३ रनको योगदान दिए ।
दिल्ली क्यापिटल्समै रहेका नेपालका सन्दिप लामिछानेले भने पहिलो खेलमा मौका पाएनन् । नेपाली लेग स्पिनर लामिछानेले गत सिजनमा पनि अन्तिम ३ खेलमा मौका पाउँदा आफूलाई प्रमाणित गर्न सफल भएका थिए ।
आईपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा कोलकाता नाईट राईडर्सले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५