विराटनगर : अस्ट्रेलियन पूर्वकप्तान रिक्की पोन्टिङको प्रत्यक्ष निगरानी र प्रशिक्षणमा उच्च मनोबलका साथ मैदानमा उत्रिने दिल्ली क्यापिटल्सले आज आफ्नो पहिलो खेल मुम्बई इन्डियन्ससँग खेल्दै छ । आईपीएलको अघिल्लो संस्करणमा फितलो प्रदर्शन गरेको दिल्ली डेयर डेभिल्सले यो वर्ष आफ्नो नाम समेत परिवर्तन गर्दै दिल्ली क्यापिटल्स बनाएको छ र सुखद् सुरुआतको प्रतीक्षामा छ ।
आज साँझ नेपाली समय अनुसार ८ः१५ बजे मुम्बईको वानखाडे स्टेडियममा हुने खेलमा सबैको नजर छ । तर आम नेपाली क्रिकेटप्रेमीलाई भने सो टोलीबाट सम्मिलित नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘प्लेइङ सेट’ मा पर्छन् वा पर्दैनन्, सर्वाधिक चासोको विषय बनेको छ । दोस्रोपटक आईपीएल खेल्न भारतमा रहेका सन्दीपलाई उनको टीमले समेत उत्तिकै स्थान मात्र दिएको छैन, उनको हरेक गतिविधिलाई सामाजिक सञ्जालमा महत्वका साथ प्रचार गरिरहेको छ ।
आईपीएलमा सन्दीपको विगत
अघिल्लो संस्करणको आईपीएल खेलमा उनको खासै चर्चा थिएन । अझ उनको नाम अन्तर्राष्ट्रिय क्रिकेटमा त्यति परिचित पनि थिएन । नेपाली क्रिकेटरले आईपीएलमा सहभागिता जनाउन पाउनु नै महत्वपूर्ण उपलब्धि भएको नेपालीको बुझाइ थियो । यद्यपि सन्दीपले आईपीएलमा पहिलोपटक खेल्दा नै भारत जस्तो क्रिकेटको सर्वाधिक क्रेज भएको देशमा आफ्नो छाप छोड्न सफल भए । तर उनको टीमको प्रदर्शन भने निकै खराब रह्योे ।
सन्दीपले अन्तिम एघारमा स्थान पक्का गर्छन् वा गर्दैनन् भन्ने कौतुहल सबैमा छ । यद्यपि पछिल्लो एक वर्षमा उनले गरेको प्रदर्शनका कारण सुरुआतको २–३ म्याचमा उनले खेल्न सक्ने सम्भावना प्रचुर छ ।
अघिल्लो संस्करणमा उनको टीम दिल्लीले यति खराब प्रदर्शन गर्यो कि छ वटा म्याच खेल्दा मात्र एकमा मात्र जित हासिल गर्यो । जसका कारण दिल्लीका फ्यानहरू मात्र निराश भएनन्, त्यसको असर खेलाडीमा समेत पर्न गयो । जसका कारण दिल्लीका कप्तान गौतम गम्भीरले कप्तानबाटै राजिनामा दिएका थिए । त्यो संस्करणमा समेत प्लेइङ सेटमा पर्न सन्दीपले १०औं म्याच कुर्नुपरेको थियो । आईपीएलमा जम्मा तीन म्याच खेलेका सन्दीपले आफूलाई यसरी अब्बल प्रमाणित गरिदिए कि जुन खेलले उनको टीमले जित मात्र हासिल गरेन, निरास नेपाली फ्यानहरूलाई उत्साहित समेत बनाइदियो ।
रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको पहिलो खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । विराट कोहली र एबी डेभिल्लर्स जस्ता ब्याट्सम्यानलाई खुलेर खेल्न नदिएका सन्दीपले सबैभन्दा किफायती बलिङ गर्दै एक विकेट पनि लिए । उनले तीन म्याचमा कुल ५ विकेट लिँदै आफू अन्तर्राष्ट्रिय लिगहरूका लागि सबल रहेको प्रमाणित गरिदिए ।
यो एक वर्षको अवधिमा सन्दीप अन्तर्राष्ट्रिय लिगहरूका लागि पहिलो रोजाइको खेलाडी बन्न पुगे । एक वर्षको यो यात्रामा उनले ६ वटा देशमा सञ्चालन भएका टी–२० लिग र एउटा टी– १० लिग खेल्दै आफ्नो गतिशील प्रभाव देखाए ।
के आज सेटमा पर्लान् त सन्दीप ?
आज हुने म्याचको प्रतीक्षा सबैतिर छ । अझ सन्दीपले अन्तिम एघारमा स्थान पक्का गर्छन् वा गर्दैनन् भन्ने कौतुहल सबैमा छ । यद्यपि पछिल्लो एक वर्षमा उनले गरेको प्रदर्शनका कारण सुरुआतको २–३ म्याचमा उनले खेल्न सक्ने सम्भावना प्रचुर छ ।
अस्ट्रेलियाको बिग ब्यास, अक्यारेबियन लिग (सीपीएल), क्यानाडामा भएको ग्लोबल टी–२०, अफगानिस्तानको प्रिमियर लिग, यूएईमा आयोजित टी–१० लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग (बिपिएल) र पाकिस्तानको सुपर लिग खेलेर सफल प्रमाणित गरेका सन्दीपले आज खेल्ने विश्वास सबैको छ ।
उनको टीमले पनि पछिल्लो समय उनको प्रदर्शनका कारण उनलाई अन्तिम ११ मा राख्न सक्ने छ । २–३ म्याचको प्रदर्शनको आधारमा उनको बाँकी खेल तय हुन सक्ने छन् । पूर्व क्रिकेटर पारस लुनिया सन्दीपको पछिल्लो खेलको मूल्यांकन गर्ने हो भने दिल्लीले आजको खेलमा अन्तिम ११ मा पार्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘हरेक टीम जितको लागि लालायित छ, त्यहाँको वातावरणले के छ, कुन खेलाडीको आवश्यकता छ, त्यो अहिले नै भन्न सकिन्न । तर दिल्लीले आजको खेलमा सन्दीपलाई ‘प्लेइङ सेट’ मा राख्न सक्छ ।’
आईपीएलमा चार जना विदेशी खेलाडी मात्र प्लेइङ सेटमा राख्न पाइन्छ । अझ त्यसमा पनि दिल्लीको टीममा अमित मिश्र र अक्षर पटेल जस्ता भारतीय स्पिनर छन् । भारतको राष्ट्रिय टीमबाट स्थान बनाइसकेका अमित दिल्लीका स्थानीय बासिन्दा हुन् । अझ गत वर्ष पञ्जाबबाट खेलेका अक्षर पटेल प्रतिभाशाली खेलाडी मात्र नभएर दिल्लीले यो वर्ष उनलाई महँगो रकम खर्चिएर खरिद गरेको छ । यो अवस्थामा दुई–दुई जना भारतीय प्रभावशाली स्पिनर हुँदाहुँदै सन्दीप ‘प्लेइङ सेट’ मा पर्ने हुन् वा नपर्ने अन्योल नै छ ।
क्यानका उपाध्यक्ष नरेशभक्त श्रेष्ठ आजको खेलमा सन्दीपले अन्तिम ११ मा स्थान पक्का गर्नु चुनौतीपूर्ण भएको बताउँछन् । तर पनि बिग ब्यास र अघिल्लो आईपीएलमा उनको खेललाई नियालिरहेका प्रशिक्षक रिक्की पोन्टिङले कत्तिको जोखिम लिने हुन त्यसमा भर पर्ने बताउँछन् । श्रेष्ठ भन्छन्, ‘अघिल्लो वर्ष पोन्टिङले कति बुझे तर यो वर्ष उनले सन्दीपलाई नजिकबाट बुझेका छन् । सायद उनले ‘रिक्स’ लिएमा सन्दीपले आजको खेल खेल्न सक्ने छन् ।’
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५