राँझा : प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ ।
प्रतियोगितामा समावेश कुल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए । उनका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् ।
नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताए ।
उनले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिए । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथ्लेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ ।
ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ । १/२ स्थानबाहेक अधिकांश प्रस्तावित स्थानमै प्रतियोगिता हुने उनले बताए ।
तयारी तीव्र
चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नेपालगञ्जमा तीव्र पारिएको छ । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माण धमाधम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष ओलीले जानकारी दिए ।
नेपालगञ्ज रङ्गशालामा अहिले विशिष्ट पाहुना बस्ने प्याराफिट जडानको तयारी भइरहेको छ । चीनबाट भारतको कोलकाता बन्दरगाह हुँदै आएको ५ मालबाहक गाडी नेपालगञ्ज भन्सार आइपुगेकाले अब छिट्टै जडान कार्य सुरु हुने अध्यक्ष वलीले बताए । विशिष्ट अतिथि प्याराफिटको सामान नआउँदा आठौं राष्ट्रिय खेलकुदको औपचारिक मिति तोक्न ढिलाइ भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताउँदै आएका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५