काठमाडौं ः इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदै छ । १२औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समयअनुसार राती ८:१५ मा सुरु हुनेछ ।
त्यसैगरी नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल आइतबार मुम्बई इन्डियनससँग खेल्दै छ । नेपाली समयअनुसार ८:१५ बजे हुने खेल मुम्बईको वानखडे स्टेडियममा हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने खेल्ने कि नखेल्ने अहिलेसम्म टुंगो लागेको छैन् । तर पछिल्लो टी-२० खेलमा सन्दीपको उत्कृष्ट प्रर्दशनका कारण उनी अन्तिम ११ मा पर्ने सम्भावना प्रबल रहेको छ ।
दिल्लीले आफ्नो टिममा २२ खेलाडी समावेश गरेको छ । शिखर धवनजस्ता खेलाडीसमेत दिल्लीमा आबद्ध छन् । मुम्बई इन्डियन्स पनि बलियो टिम मानिएको छ । रोहित शर्माको कप्तानीमा रहेको इन्डियन्ससँग युवराज सिंह, हार्दिक पाण्डेय, किरोन पोलार्ड जस्ता उत्कृष्ट खेलाडी रहेका छन् ।
आजको खेलमा बैंगलोरको तर्फबाट भारतीय कप्तान विराट कोहली र चेन्नईको तर्फबाट पूर्वकप्तान महेन्द्र सिंह धोनीले नेतृत्व गर्दै छन् । चेन्नईस्थित एम ए चितम्बरम स्टेडियममा खेल हुनेछ । दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।
भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । डबल राउन्ड रोबिन लिगको आधारमा संञ्चालन हुने लिगको शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउनेछन् । आईपीएलमा यस सिजनमा चेन्नई सुपर किङ्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कोलकाता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५