भृकुटीमण्डप (काठमाडौं) : सुन्दै पत्याउन गाह्रो । ३५ बर्षदेखि निरन्तर एउटै पेशा अंगाल्नु चानचुने कुरै होइन । झन्डै आधा जनसंख्या ३५ वर्ष तलकाहरु छन् । तर, राधिका खड्का त्यस्ती व्यक्ति हुन्, जसको साइनो फूलसँग तीन दशक पुरा भइसक्यो ।
सुरुमा देवरको विशाल नर्सरीमा एक दशक बिताइन् । त्यहाँ उनले धेरै कुरा सिक्ने मौकासमेत पाईन् । र, त्यस कुरालाई सदुपयोग गर्दै पछि आफैँ केही सोच बनाइन् । पछि परिवारकै सल्लाह र सहयोगमा उनले आफ्नै महाराजगन्ज नजिकै खड्का नर्सरी खोलिन् । ‘नाम र दाम दुवै पाएपछि मान्छेलाई के चाहियो ?’, प्रश्न गर्दै राखिका भन्छिन्, ‘एक रोपनीबाट सुरु गरेकी थिएँ, अहिले २५ रोपनीमा फैलिएको छ ।’
व्यापार फैलिँदै गर्दा प्रसस्त खुसी नहुने कोही हुँदैन । राधिका पनि त्यसबाट अछुतो हुने कुरै भएन । सँगसँगै निरन्तरताको पनि मुख्य भूमिका हुन्छ । उनी त्यस्तो प्यासन बोक्ने व्यक्ति हुन्, जसले सुरुका दिनमा कमाइ नहुँदा पनि कहिल्यै अत्तालिइनन् । भन्छिन्, ‘३० हजारबाट नर्सरी सुरु गरेकी हुँ । हिजोको दिनमा गरेको संघर्षको फल पछिल्ला केही वर्षदेखि टिपेर खाइरहेकी छु ।’
महाराजगन्ज नजिकै रहेको उनको खड्का नर्सरीमा फलफूल, जडिबुटीलगायत दुई हजार प्रजातिका बिरुवा पाइन्छन् । मौसम राम्रो हुँदा फूलका बिरुवाहरू भारतसम्म निर्यात हुने उनी बताउँछिन् । साथै बुटवल, भैरहवा, पोखरा, लुम्बिनी, धनगढीलगायतका ठाउँमा समेत पुग्ने गरेको उनी बताउँछिन् ।
भृकुटीमण्डपमा जारी २२औँ फ्लो एक्सपोमा समेत खड्का नर्सरीलाई बेस्ट स्टलको उपाधि मिल्यो । पुरस्कार पाएपछि हर्षित हुँदै उनी भन्छिन्, ‘मिहिनेतको फल पाइँदोरहेछ ।’
दुई जनालाई रोजगारी दिएर सुरु भएको खड्का नर्सरीले हाल २० जनालाई रोजगारी दिलाउँदै आएको छ । युवाहरू विदेश जानुहुँदैन भन्ने मान्यता राख्ने राधिकाले लण्डनमा बस्दै आएका दुई छोराहरूलाई पनि यतै बोलाइन् । भन्छिन्, ‘उनीहरू पनि अहिले सन्तुष्ट छन् र कमाइ पनि राम्रै गरिरहेका छन् ।’
खड्का नर्सरीबाट भण्डै ८० वटा नर्सरीले बिरुवा लाने गरेका छन् । बजारमा फूल व्यवसायीको बढ्दो प्रतिस्पर्धाबारे उनी भन्छिन्, ‘प्रतिस्पर्धा हुनु राम्रो हो । राम्रोसँग सिकेर मात्रै यो व्यवसायमा लाग्दा उपयुक्त देखिन्छ । प्रतिस्पर्धा गर्दा फूल नमरोस् । फूल मर्यो भने ग्राहकको मन दुखी हुन्छ ।’
‘जीवनमा राम्रै ठाउँमा हात हालेको जस्तो लाग्छ । अहिले आएर कता कता लयबद्ध तरिकाले काम गर्न सक्नेछु जस्तो लाग्छ । अहिले छोराहरूलाई लयबद्ध रूपमा जान आग्रह गरेकी छु’, उनले भनिन् । निरन्तर फूलमा भूलिरहेकी ५२ वर्षीया राधिका बाँकी जीवन पनि फूलसँगै रमाउने योजनामा छन् ।
फूलसँग जोडिएको रानी एश्वर्यासँगको साइनो
फूल व्यवसायीहरूको प्रमुख समस्याको रूपमा भाडामा जग्गा र पानी नपाउनु नै रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो व्यवसायमा संलग्न हुन धेरैले इच्छा देखाएको भेटेकी छु ।’ व्यवसायो राम्रो पनि छ । जग्गाको हकमा सरकारले खाली जग्गा व्यवसायका लागि भाडामा दिनुपर्ने उनको माग छ । भनिन्, व्यवसाय गर्न जग्गा भाडामा दिनुपर्यो भन्दा तत्कालीन रानी ऐश्वर्यले २० रोपनी होइन, ४० रोपनी दिलाइदिन्छु भन्नुभएको थियो, त्यो कुरा कहिल्यै पूरा भएन।
आजभन्दा २५ वर्षअघि रानी ऐश्वर्यले उनलाई एक लाख पुरस्कारसमेत दिएकी थिइन् । ‘फूलको प्रदर्शनीमा रानी ऐश्वर्यसँग आधा घण्टा कुराकानी गरेँ । मेलामा रानीसँग कुराकानी गर्ने सायद अरूसँग क्षमता थिएन । व्यवसायका लागि जग्गा भाडामा दिनका लागि मैले उहाँसँग आग्रह गरेँ । तर मेरो कला देखेर उहाँले मलाई बोन्सनइका लागि दश हजारको जागिर दिनुभयो । केही समय काम गरेपछि मैले त्यो जागिर होइन, व्यवसाय गर्न जग्गा दिलाइदिन आग्रह गरेँ । २० रोपनी माग्दा उहाँले तिम्लाई २० होइन ४० रोपनी दिलाइदिन्छु भन्नुभएको थियो ।
लामो समयदेखि सरकारको खाली भएको जमिन व्यवसायीले पाउनुपर्ने उनको मात्रै होइन, समग्र व्यावसायीको माग छ । पानीको व्यवस्था हुनुपर्ने, व्ययसायीलाई उत्साहित पार्नुका साथै विदेश जाने युवाहरूलाई देशमै रोक्नुपर्यो भन्दै आएको उनी बताउँछिन् ।
सरकारले जग्गा भाडा दियो भने दुई–तीन सय रोपनी जग्गामा नर्सरी राख्ने योजना भएको उनी बताउँछिन् । जग्गा प्रशस्त मात्रामा भए सयपत्री, गोदावरी यहीँ उत्पादन गर्न सकिन्थ्यो जस्तो लाग्छ उनलाई । उनको नर्सरीमा भारत, लण्डन, हङकङ, बेलायत, हल्याण्ड, स्वीजरल्याडबाट सीड आउने गर्छ ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५