स्पेन । स्पेनवासी नेपालीले भारतीय सीमामा पर्खाल र काँडेतार लगाउन सरकारसँग माग गरेका छन । नेपाली जनप्रगतिशिल मञ्च स्पेनले गरेको एक कार्यक्रममा उपस्थित नेपालीहरूले भारतीय हस्तक्षेपले सीमा नाघेकाे भन्दै सीमामा पखार्ल लगाउन माग गरेका हुन । कार्यक्रममा बोल्दै पर्यटन दूत दिपक खरेलले सरकारले भारतीय सीमामा पर्खाल र काँडेतर लगाउने हिम्मत गर्नुपर्ने बताउनुभयो । उहाँले विगतदेखिको भारतीय हेपाहा प्रवृति अझै जारी रहेकाले सीमा काँडेतारसहितको पर्खाल लगाउनुको कुनै विकल्प नरहेको बताउनुभयो । खरेलले सरकारले आँट गरे विदेशमा रहेका लाखौँ नेपालीले आर्थिक सहयोग गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘सरकारले हिम्मत गरोस आर्थिक संकलन गर्न हामी तयार छौँ ।’ उहाँले आक्रोशित मुद्रामा भन्नुभयो ‘अब रेमिट्यान्सबाट देश चलाउने होइन, आर्थिक समृद्धि र विकासको मार्गचित्रबाट नेपालको परिवर्तन गर्नुपर्छ ।’ कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष देवकाजी गुरुङ्गले देशको विषम परिस्थितिमा सम्पूर्ण देशभक्त राजनीतिक शक्ति जुटेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाल बाहिर भएका सबै नेपालीले देश निर्माण आर्थिक लगानी गर्ने बताबरण बनाउनु पर्ने बताउनुभयो । –दिपेन्द्र गजुरेल
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३