भनिन्छ, हजार शब्दले प्रकट गर्न नसकेको कुरा एउटै तस्वीरले प्रष्ट पार्न सक्छ । अथवा कुनै पनि ठाउँ तथा वस्तुको विषयमा जान्नका लागि एउटा तस्वीर काफी हुन्छ भनेझैँ कर्णालीको विषयमा लाखौं शब्द खर्चिंदा पनि जानकारी पूरा नहुने कुरालाई दुई पत्रकारका ५० तस्वीरले स्पष्ट बनाएका छन् । कर्णालीबारे जान्न चाहनेका लागि पत्रकारद्वय नवीन बराल र रमेश भुसालले ५० तस्वीर प्रदर्शन गरेर कर्णालीबारे वृहत जानकारी गराए ।
गत शनिबारबाट नेपाल कला परिषद्को हलमा भएको उक्त प्रदर्शनीमा चीनको कैलाशदेखि भारतको गंगासम्म समेटेर तस्वीर प्रदर्शन गरिएको पत्रकार नवीन बरालले बताए । तस्वीर प्रदर्शनीमा पुग्दा नदीको सौन्दर्यतासँगै विविधताले सबैको मन लोभ्याउँछ ।
प्रदर्शनी क्रममा कतै उत्सुकताको आभास गराउनेदेखि भावुकतासम्मको तस्वीर देख्न सकिन्छ । हजारौँले तस्वीर अवलोकन गरेको पत्रकारद्वयले बताएका छन् । नेपाली र विदेशीसमेतले तस्वीर हरेर खुसी भएको बताउँदै पत्रकारद्वयले कर्णालीबारे थप अध्ययन गर्नेका लागि यो प्रदर्शनी एउटा आधार बनेको बताए ।
एक हप्तासम्म सञ्चालित प्रदर्शनी आज शुक्रबार समापन भएको छ । प्रदर्शनीमा चीनको तिब्बतदेखि हुम्ला, बाजुरा, कालिकोट, कैलाली, अछाम, सुर्खेत, बर्दिया हँुदै भारतको गंगा सभ्यतासम्म तस्वीरले ओगटेको छ । तस्वीरमा जल पर्यटन, कर्णाली आसपासका बासिन्दाको वेषभूषा संस्कार संस्कृति झल्किएको छ । त्यस्तै त्यसभेगको बाध्यता, रहर, चालचलन, दैनिकी र जोखिम पनि नजिकबाट नियाल्न सकिन्थ्यो ।
तस्वीरमा मानसरोवर, माउन्ट कैलाश, हिल्सा गाउँ, नदीको सुन्दरता, यारी गाउँ लगायतका सुन्दरता हेर्दै जाँदा एक्कासी मन खिन्न हुन्छ, कारण हो सुन्दरतासँगै त्यहाँ थुप्रिएका फोहोरका डुंगुर । त्यस्तै त्यहाँको बाध्यता झल्काउने फोटोले मन खिन्न बनाउँछ । तस्वीरमा देखिने रमाइलो पर्यटकीय यात्रा र सिमीकोटको सुन्दरतासँगै हुम्लाको सडकको जोखिम हेर्दा आफैँ कर्णाली यात्रामा भएको आभास गराउँछ ।
सात दिनसम्म चलेको फोटो प्रदर्शनी कर्णालीको रमाइलो, संस्कारसँगै त्यहाँको बाध्यात्मक वास्तविकता बुझाउँदै शुक्रबार सकिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५