भोजपुर : बजार केन्द्रित बजार अनुगमन गर्दै आएको जिल्ला प्रशासन कार्यालय अहिले गाउँ छिरेको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरबाट गएको सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराई नेतृत्वको टोलीले शुक्रबार ट्याम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्ण बजारको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा १९ हजार आठ सय ९० रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान नष्ट गरिएको छ ।
गाउँपालिकाको केन्द्रमा रहेको सिजन होटल एन्ड लज, वाइफोर होटल एन्ड लज, प्रतिष्ठा किराना पसल, सुनिला किराना पसल र लादिम्पा किराना पसलमा अनुगमन गर्दा फेला परका म्याद गुज्रिएका सामान नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । बजार अनुगमनबाट बियर, तेल, भुजिया, दालमोठ जस्ता सामनको म्याद सकिएको पाइएको थियो ।
यस्तै ट्याम्केमैयुङ गाउँपालिकाको वडा नम्बर २ छिनामखुको सिर्दलीमा रहेका पसलहरूमा पनि अनुगमन गरिएको छ । सिर्दलीमा रहेको तुफान होटलबाट छ हजार चार सय ६० रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान नष्ट गरिएको छ । अब स्थानीय प्रशासनले बजार अनुगमनलाई नियमित बनाएकाले पुनः अनुगमनमा म्याद गुज्रिएको सामान भेटिए त्यस्ता व्यवसायीलाई कार्बाही हुने सहायक प्रजिअ भट्टराईले बताए ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५