विराटनगर : चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–१ गोलले स्तब्ध हुँदै नेपालले पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप उपाधि गुमाएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा भारतसँग ३–१ गोल अन्तरले पराजित नेपाली टोलीले इतिहास रच्ने मौकालाई गुमाएको छ ।
चार पटकको साफ च्याम्पियन्स भारतले नेपाल कुनै अवसर नदिई खेललाई आफ्नो पक्षमा पार्न सफल रह्यो ।
पूर्वार्द्धको ४५ मिनेट एक/एक गोलको बराबरीमा रहेको खेललाई उत्तरार्द्धमा नेपालले दबाब सिर्जना गर्दै जीतको बाटो देखाएको थियो । खेलको १८ मिनेटमा नेपालको सावित्रा भण्डारीले प्रहार भारतीय गोलरक्षक आदिती चौहानले सहजै बचाएकी थिइन् । भारत पनि नेपालमाथि निरन्तर रूपमा दबाबमा राखेको थियो । खेलमा अग्रता भने भारतले लिएको थियो ।
खेलको २६ मिनेटमा भारतले पाएको फ्रि किकलाई उत्कृष्ट प्रहार गर्दै भारतले एक गोलको अग्रता लिएको थियो । डालिमा चिपरले गरेको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला सुब्बाले बचाउन नसक्दा गोल हुनपुगेको थियो ।
एक गोलले पछि परेको नेपालले ७ मिनेटमा खेललाई बराबरीमा ल्यायो । भारतको डिबक्सभित्रको बलमा सावित्रा भण्डारीले उत्कृष्ट प्रहार गर्दै गोल गरिन् । पूर्वार्द्धको ३३ मिनेटमा भारतको रक्षापंक्तिको खेलाडी स्विटीलाई छल्दै सावित्राले सुन्दर गोल गरिन् । सावित्राले प्रतियोगिता अवधिमा सर्वाधिक गोलकर्ताको सूचीमा राख्दै नेपाललाई संकटबाट जोगाएकी थिइन् । प्रतियोगिता अवधिमा उनको यो चौथो गोल हो । लगत्तै पुन: सावित्रा गोल गर्नबाट चुकिन् । खेलको ४५ मिनेटमा सावित्राको प्रहारलाई भारतको गोलरक्षक आदिती चौहानले पन्च गर्दै बचाएकी थिइन् ।
उत्तरार्द्धको ६२ मिनेटमा भारतले अर्को गोल गर्यो । नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गोलरक्षक एन्जिलालाई छल्दै भारतको ग्रेस दाङमेलले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा लगेको थियो । निकै दबाबपूर्ण खेलमा नेपालले बाँकी समयमा गोल गर्ने प्रयास भने नगरेको होइन । नेपाली कप्तान निरु थापा, अनिता बस्नेतले केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिन सकेन ।
भारतले उत्तरार्द्धको ७८ मिनेट फेरि गोल गर्यो । पुन: नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अन्जु तामाङले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याइन् । नेपाली डिफेन्डर गीता राणालाई विट गर्दै अन्जुले सुन्दर गोल गरिन् ।
नेपालले खेलको ८२ मिनेटमा गोल गर्नै अवसरबाट चुक्यो । नेपाली खेलाडी सावित्रा भण्डारीले भारतका दुई खेलाडीलाई छक्याउँदै गरेको प्रहारलाई भारतीय गोलरक्षकले उत्कृष्ट तवरले बचाएका थिए । खेलको अन्त्यतर्फ निकै आक्रामक खेलेको नेपालले गोल गर्न नसक्दा प्रतियोगिताको उपाधि गुमाउनुपरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५