भुवन चन्द यस्ती भाग्यमानी कलाकार हुन्, जसलाई कलाकार बन्नमा आफ्नै परिवारको साथ जुट्यो । कला क्षेत्र बामे सर्दै गरेको अवस्थामा कलाकार हुनु भनेको चानचुने कुरै थिएन । त्यसमा पनि महिला । जब त्यसबेला पुरुषलाई नै महिलाको भेषमा पर्दामा उतार्ने काम हुन्थ्यो । कला क्षेत्रलाई अहिले पनि सम्मानजनक रूपमा हेर्ने अवस्था छैन । अझ त्योबेलाको कुरा सम्झिँदा पनि बुझ्न सकिन्छ ।
त्यतिबेला कतिपय व्यक्ति परिवार र समाजको असहयोगका कारण कलाकार बन्ने इच्छा इच्छामा नै सीमित हुन्थे । तथापि उनको हकमा भने यो कुरा लागू भएन । कारण उनका पिताले नै उनलाई कलाकार बन्न प्रेरणा दिए । उनी भन्छिन्, ‘कला क्षेत्रलाई बुझेको परिवार भएकाले मलाई कहिल्यै असहयोग भएन ।’
पिता गायक भैरवबहादुर थापाले भुवनलाई रंगमञ्च प्रवेश गराएका थिए । सर्वप्रथम उनले नाटककार बालकृष्ण समको ‘अन्धबेग’ नाटकमा बालकलाकारको भूमिका निभाउने अवसर पाइन् । ‘अन्धबेग नाटकमा खेल्ने कलाकार कोही नभएपछि बुबाले मलाई खेलाउनुभएको हो’, भुवनले भनिन् ।
अनि एकपछि अर्को गर्दै उनले विभिन्न नाटकमा अभिनय गर्ने मौका पाउँदै गइन् । रंगमञ्चमा व्यस्त भएकी भुवन २०१८ सालमा राष्ट्रिय नाचघरमा जागिरे भइन् । नाचघरको पुरातत्व विभागअन्तर्गत काम गर्न थालेकी उनी २०३३ सालमा स्थायी जागिरे भइन् ।
उनले गायक मान्धर र गायिका तारादेवीको स्वरमा सजिएको गीतमा अभिनय गर्दा पो सोचिन्, ‘मैले हेरेको चलचित्रका गीतमा त नायिकाले पो अभिनय गर्थे । तर, यहाँ म पनि नाच्दै छु । के म पनि नायिका भएँ त ?’
समय मिलाएर उनी विदेशी चलचित्र हेर्ने गर्थिन् । त्यतिबेलाका कुरा सम्झिँदै उनी भन्छिन्, ‘म पनि चलचित्र खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, त्यतिबेला नेपालमा चलचित्र निर्माण भएको थिएन ।’
केही समयपछि २०२१ सालमा सरकारी स्तरबाट चलचित्र निर्माण हुने चर्चा सुरु भयो । राजा महेन्द्रले कलकत्ताबाट हीरासिंह खत्रीलाई चलचित्र बनाउने आदेश दिएपछि कलाकार खोज्न काठमाडौँ आएका थिए । चलचित्रका कलाकार छनोटका लागि अन्तर्वाता लिइएको थियो । जसमा महिला कलाकारको तर्फबाट चैत्यदेवी, विमला श्रेष्ठ र भुवन सहभागी भए ।
चलचित्रको पहिलो सुटिङ चोभारमा भएको थियो । चलचित्रमा अभिनय गर्ने इच्छा बोकेकी भुवनलाई नायिका बन्दै गरेको जानकारी दिइएको थिएन । मेकअप गरेर केही निर्देशनपछि गायक तथा नायक शिवशंकर मानन्धरसँग डोयट गीतका लागि अभिनय गर्दा मात्र आफू नायिका बन्दै छु भन्ने कुरा थाहा पाएको उनी बताउँछिन् ।
उनले गायक मान्धर र गायिका तारादेवीको स्वरमा सजिएको गीतमा अभिनय गर्दा पो सोचिन्, ‘मैले हेरेको चलचित्रका गीतमा त नायिकाले पो अभिनय गर्थे । तर, यहाँ म पनि नाच्दै छु । के म पनि नायिका भएँ त ?’
पन्ध्र वर्षको उमेरमा नायिका बनेकी भुवनको चलचित्र ‘आमा’ २०२२ सालमा प्रदर्शनमा आयो । जतिखेर उनी सरकारको तर्फबाट कल्चर रिलेसनका लागि चीन गएकी थिइन् । चीनबाट नेपाल फर्किएपछि राजा महेन्द्रले ‘हाम्री भुवन भारतीय नायिकाभन्दा कम रहिनछिन्’ भन्दै प्रशंसा गरेको उनी अहिले पनि सम्झिन्छिन् । तत्कालीन अवस्थामा राजाबाट प्रशंसा पाएपछि आफूलाई भाग्यमानी सम्झिइन् भुवनले ।
चीनबाट फर्केपछि आफूले अभिनय गरेको चलचित्र हेरेकी उनलाई धेरै व्यक्तिले प्रशंसा गरे । अनि उनको अभिनयको चर्चा चल्यो । उनले हीरासिंह खत्रीकै निर्देशनमा बनेको ‘हिजो आज र भोलि’ मा पनि अभिनय गरिन् ।
भुवन पत्रकार माइकल चन्दसँग लगभग एक वर्षे प्रेम सम्बन्धमा रहिन् । उनीहरूको सम्बन्ध वि.सं. २०३३ सालमा वैवाहिक सम्बन्धमा परिणत भयो । अझै रमाइलो त के भने, विवाह भएको भोलिपल्ट उनका श्रीमान् माइकल जर्मन उडे भने उनी मस्को । आ–आफ्नै कामका लागि ।
हाल चरित्र अभिनेत्रीका रूपमा स्थापित चन्दलाई थुप्रै अफर आए पनि वर्षमा मन परेका एक÷दुई वटामा मात्र अभिनय गर्न थालेको उनी बताउँछिन् । करिब तीन दर्जन चलचित्रमा अभिनय गरेकी भुवन भन्छिन्, ‘अहिले नेपाली चलचित्रले फड्को मारेको छ ।’ पछिल्लो समय केही वर्ष चलचित्र क्षेत्रमा सक्रिय भएर हराएका चलचित्रकर्मी चलचित्र निर्माणमा सक्रिय हुन थालेका छन् । त्यस्तै भुवन पनि चलचित्र साइनो लिएर आउँदै छिन् ।
भन्छिन्, ‘चलचित्र बनाउने खासै योजना थिएन, यो जुरेको संयोग मात्रै हो । चलचित्रमा अभिनय गर्नभन्दा निर्माण निकै गाह्रो विषय रहेको अनुभव गरेकी छु । चलचित्र निर्माता हुँदा धेरै जिम्मेवारी अनुभव हुँदो रहेछ ।’
सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्र साइनोको पहिलो गीत सार्वजनिक भइसकेको छ । भुवनका अनुसार साइनो राम्रो बनेको छ । तर पछिल्लो समयमा दर्शकले कस्तो खालको चलचित्र अपेक्षा गरेका छन्, बुझ्न कठिन छ ।
सरकारले कलाकारहरूलाई उचित सम्मान दिन नसकेको गुनासो भुवनको छ । भन्छिन्, ‘कलाकारलाई जिउँदैमा सम्मान गर्नुपर्छ ।’
हेर्नुस् चलचित्र साइनाेकाे याे गीत :
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५