–नवीन रायमाझी
निर्वाचन अघिदेखि नै आफ्नो विवादास्पद वयान र मिडियाको बक्रदृष्टिको कारण चर्चित रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेपछि आफुले निर्वाचनको समयमा गरेका घोषणा मध्येका केही प्रतिज्ञा पुरा गरे । उनले आफुले पद सम्हालेको केहि दिन पछि नै जारी गरेका आप्रावासीसँग सम्वन्धित दुईवटा कार्यकारी आदेशहरु मध्ये अमेरीका र मेक्सीको बिचमा पर्खाल लगाउने, सात वटा मुस्लिम देश (हाल ६) इराक, इरान, सिरिया, सोमालिया, सुडान, लिविया, यमन बाट आउने विदेशीहरुलाई ९० दिनका लागि अमेरिकामा प्रवेश गर्न अस्थायी प्रतिवन्ध लगाउने, एक सय २० दिनसम्म शरणार्थीको प्रवेशलाई रोक्ने, सिरियाबाट आउने शरणार्थीहरुलाई अनिश्चितकालका लागि प्रवेश गर्न नदिने र अमेरीकामा यो वर्ष आउन पाउने गरि तोकिएको एक लाख दश हजार शरणार्थीको कोटालाई घटाएर पाँच हजार बनाउने जस्ता व्यवस्थाहरु थिए, यी उल्लेखित व्यवस्थाहरुमा पनि केहीलाई अदालतले खारेज गरिसकेको छ र कुनै कुनै हालसम्म यथावत छन ।
उनको यो फर्मानबाट सबैभन्दा विचलित कागजबिहीन रुपमा बसोबास गरिरहेका आप्रवासीहरु डराए र उनीहरु डराउनु स्वभाविक पनि थियो । आफु कमजोर रहेको अवस्थामा डर मान्नु मानवीय स्वभाव भएको त ठिकै हो तर नेपालका केहि ठुला भनाउदा र अमेरिकामा बसोबास गरिरहेका पत्रकारहरुको बर्खे च्याउ सरिका अनलाइन पोर्टलहरुले मनपरी समाचार सम्प्रेषण गरेर नेपालमा अर्को त्रासको सिर्जना गरे, यसबाट जो कागजबिहिन अवस्थामा अमेरिकामा बसोबास गरिरहेको थियो त्यसका परिवारहरु बढी त्रसित हुन् पुगे ।
अमेरिकी कानुनका जानकारहरुका अनुसार उनको त्यो कार्यकारी आदेशले अमेरिकी नागरिकता पाएका व्यक्ति, ग्रिनकार्ड भएका माथिका सात देश बाहिरका नागरिकले छोटो समयका लागि अमेरिका बाहिर जानुपर्दा कुनै अनुमति लिनुपर्ने व्यवस्था गरेको छैन र भइरहेको संवैधानिक र कानुनी व्यवस्थालाई विस्थापित गर्न सक्दैन । यद्यपी ग्रिनकार्ड भएका व्यक्ति, एसाइलमको प्रक्रियामा रहेका र अन्य अस्थायी भिसा भएका आप्रवासीहरुलाई प्रवेश गर्दाको समयमा बाहिर गएर फर्किइ आउँदा प्रवेश गर्न अयोग्य ठहरिने कुनै कार्य सो व्यक्तिबाट भएको छ वा छैन भनि जाँचबुझ गर्ने कार्य भने हुन सक्दछ जुन कानुनी व्यवस्था पहिले पनि थियो ।
आफुले काम गरेको संस्थाबाट लेटर प्याड चोरेर अमेरिकी दुतावासमा भिसाको लागि जाँदा दुतावासमा पक्राउ परेका एक व्यक्तिले आफ्नो पोर्टलमा यति बकम्फुसे समाचार प्रेषित गरेकी त्यो समाचार हेर्दा उनको कमजोर मानसिकताप्रति दया जागेर आउछ. राष्ट्रपति ट्रम्पलाई
“
ट्रम्प काका
“
सम्बोधन गर्दै कहिले उनी अमेरिकामा रहेका सबै नेपालीहरुलाई फर्काउन लायो भन्छन त् कहिले नेपालीहरुलाई तिमीहरु आफ्नै देशमा जाउ भनेर ट्रम्पले भने भनेर लेख्छन । आफु अमेरिका आउन नसकेको कुण्ठाले निर्देशित भएको यस्ता समाचारहरुलाई नेपालका केही कथित बुद्धिजिबीहरुले अनलाइनका झुटा समाचारहरु सेयर गरिदिँदा र नियमन गर्ने संस्था प्रेस काउन्सिल कानमा तेल हालेर बस्दा सामान्य व्यक्तिले कतै यो समाचार सत्य त् होइन भनेर सोच्नु कुनै अचम्म होइन । सम्भवत राष्ट्रपति ट्रम्पले सोच्नसम्म नसकेको कुरालाई लिएर यसरी समाचार बनाउनु पत्रकारिताको कुन धर्म हो त्यो कसैले पनि बुझ्न सकेको छैन । एउटा अर्को त्यस्तै समाचारमा, आप्रबासीहरुलाई देश निकाला गर्न १० हजार कर्मचारी नियुक्त गर्यो भन्ने छ, यो समाचारको वास्तविकता भनेको हाल २० हजार रहेका होमल्याण्ड सेक्युरिटीलाई १० हजार बढाएर ३० हजार पु¥याउने भन्ने हो, जो अमेरिका लगायत विश्वका जापान, ताइवान, फिलिपिन्स लगायतका देशहरुमा तैनाथ छन ।
समाचार अनुसार एक बर्ष वा त्यो भन्दा बढि जेल सजाय पाएका आप्रबासीहरुलाई उनीहरुको अपराधको गम्भीरता हेरेर देश निकाला गर्ने कुरामा सत्यता होला जस्तो छ र यो प्रक्रिया लागु नै भए पनि कुनै अचम्म होइन, दोस्रो देशबाट आएर अपराध गरेर जेल बस्नेलाई आफ्नो नागरिकले तिरेको करबाट पालेर राख्नु भन्दा निकाल्नु नै उचित हुन्छ र यो कुरामा कसैको दुईमत नहोला ।
त्यस्तै अर्को समाचार अनुसार राष्ट्रपति ट्रम्पले रक्षा बजेट बढाउनको लागि र त्यसको सम्भावित बिरोधबाट बच्न यो आप्रवासीहरुलाई देश निकाला गर्ने कार्ड फालेको हो भनिन्छ । वास्तबिकता के हो त्यो त समय ले बताउला तर अहिले र भोलिको अवस्थामा के हुने हो यकिन भन्न सकिने अवस्था नहुँदा पर्ख र हेरको नियम नै लागु हुन्छ. तर नेपालमा फैलिएको हल्ला जस्तो याहाँ कुनै त्यस्तो घटना नभएको र जघन्य अपराध गरेर फरार रहेका व्यक्तिहरुलाई देश निकाला गर्ने नियम पहिलेदेखि नै भएको कारणले राष्ट्रपति ट्रम्पलाई गाली गर्नुको कुनै तुक छैन ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७३