भोजपुर : हावाहुरीसँगै आगलागीका घटनामा वृद्धि हुने गरेकाले नेपाली सेनाको भोजपुरस्थित रणबम गणले बिहीबार स्थानीयलाई आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भन्ने डेमोस्ट्रेसन देखाएको छ ।
सदरमुकाम पूर्वमा रहेको श्यामशिलामा सेनाको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आगलागी हुँदा कसरी सावधान हुने र नियन्त्रणमा जुट्ने भनेर सिकाएको हो । रणबम गण भोजपुरका गणपति विक्रमदेव गिरीले स्थानीयलाई आगलागी नियन्त्रणका विषयमा जानकारी दिन डेमोस्ट्रेसन समेत गरिएको बताए ।
गणपति गिरीले भने, ‘आपतकालीन अवस्था आउन नदिन र सधैँ सर्तक बन्ने सन्देश दिनका लागि सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीलाई डेमोस्ट्रेसन मार्फत सचेत गराइएको हो ।’
यस्तो चेतनामूलक कार्यक्रम अन्य स्थानमा पनि सञ्चालन गर्न स्थानीयले माग गरेका थिए । डेमोस्ट्रेसनमा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, स्थानिय जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो ।
आगलागी नियन्त्रणमा एकरूपता ल्याउन र सुरक्षाकर्मी आइपुग्नु अगावै स्थानीयले गर्नुपर्ने कामका विषयमा सचेत गराउन कार्यक्रम प्रभावकारी बनेको सहभागीको धारणा थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५