काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसँग बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको हो।
अल साहबब मैदानमा घरेलु टोलीले दोस्रो हाफको ६१ औं मिनेटमा पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोगगर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।
खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।
यस्तै कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरे । नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एशिया कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो।
पहिलाो खेल बराबरीमा रोकेको नेपाली टोलीले फेरी कुवेतसँग नेपाली टोलीले आगामी मङ्गलबार दोस्रो खेल खेल्नेछ। फिफा बरियतामा कुवेत नेपालभन्दा तीन स्थान मात्र माथि छ । नेपाल १६१ स्थानमा रहँदा कुवेत १५८औँ स्थानमा रहेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५