वैदेशिक लगानी भित्र्याउने उद्देश्यले यही चैत १५ र १६ गते काठमाडौंमा नेपाल लगानी सम्मेलन हुँदै छ । दोस्रो पटक हुन लागेको सो सम्मेलनलाई निक्कै महत्वका साथ हेरिएको छ । यसपटक लगानी सम्मेलनमा लगानीकर्ताको सहभागिता उल्लेख्य बढ्ने अपेक्षा गरिएको छ । लगानी बोर्डका अनुसार हालसम्म ३८ देशबाट ५ सयभन्दा बढीले सम्मेलनमा सहभागी हुने बताउँदै आफ्नो आगमनको कन्फरमेसन गरेका छन् । सरकारले लगानीको वातावरण बनाउनका लागि कानुनी सुधारमा समेत जोड दिएको छ । यसअघिको सन् २०१७मा सम्पन्न सम्मेलनमा स्वदेशी र विदेशी गरी ४ सय जनाले सहभागिता जनाएका थिए । जतिबेला करिब १४ खर्ब अर्थात ९१३.५२ विलिएन अमेरिकी डलर लगानी प्रतिबद्धता आएको थियो । तर, प्रतिवद्धता अनुसारको विदेशी लगानी भने आएन । यसपटक निक्कै महत्वका साथ हेरिएको लगानी सम्मेलनबारे निजि क्षेत्रका प्रतिनिधिहरुसँग गरिएकाे कुराकानी :
धेरै राम्रो सहभागिताको अपेक्षा छ
हरिभक्त शर्मा
अध्यक्ष, नेपाल उद्योग परिसंघ
लगानी सम्मेलनको सफलताका लागि हामी सरकारसँगै मिलेर काम गर्दै आएका छौं । सबै मिलेर लगानीको वातावरण बनाउनुपर्छ । नेपालको विकासका लागि लगानी अपरिहार्य छ । उद्योग धन्दाको विकास हुनुपर्छ । त्यसकारण अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई उत्साहका साथ पर्खिरहेका छौं । एउटै सम्मेलनले सबै कुरा हुन्छ भन्ने होइन । तर, यस्ता सम्मेलनले लगानी बढाउनका लागि मद्धत गर्दछ । अन्तर्राष्ट्रिय सम्मेलनमा यसपटक धेरै राम्रो सहभागिताको अपेक्षा गरेका छौं । सबै राजनीतिक दलले आर्थीक समृद्धिको कुरा गरेका छन् । आशा छ, सबैले देशमा विदेशी लगानी भित्राउन,लगानीको वातावरण बनाउन भूमिका खेल्नेछन् । नयाँ कानुनहरू बनाएर पुरानालाई विस्थापित गर्ने कामको हामी स्वागत गर्छौँ । हाम्रो अनुरोध सांसदहरूलाई के छ भने सकिन्छ भने हामी दक्षिण एशियाका अन्य मुलुकहरूको भन्दा पनि राम्रा कानुन बनाऔँ । होइन भने कम्तीमा तीभन्दा खराबचाहिँ नबनाऔँ । उद्योग धन्दाको विकास विना देशको विकास सम्भव छैन । लगानी सम्मेलन सफल बनाउनु हामी सबैको दायित्व हो ।
धेरै उत्साही छौं
राजेशकाजी श्रेष्ठ
अध्यक्ष,नेपाल चेम्बर अफ कमर्श
लगानी सम्मेलनलाई लिएर ‘रेस्पोन्स’ राम्रो छ । लगानी भित्राउनका लागि लगानाीमैत्री ऐन कानुन बनाउनुपर्छ । यसपटक हामी धेरै नै उत्साही छौं । सरकारले लगानीका लागि झन्झटिला केही ऐन कानुन फेर्दैछ । लगानी सम्मेलन सफल बनाउन हामी पनि सरकारसँगै छौं । लगानी सम्मेलनबाट धेरै लगानी आउनेमा हामी आशावादी छौं ।
राम्रा अभ्यासहरुहरुबाट नेपालले पनि सिक्नुपर्छ
राजेन्द्र मल्ल
वरिष्ठ उपाध्यक्ष,नेपाल चेम्बर अफ कमर्श
यस्ता सम्मेलन हुनु राम्रो हो । सम्मेलनहरु भइरहनुपर्छ । लगानी सम्मेलनबाट हामी एकदमै आशावादी छौं । लगानी बोर्डमा लगानी प्रतिवद्धता आएको छ । नेपालमा लगानीको वातावरण छ भनेरै त्यो प्रतिवद्धता आएको हो । हामीले लगानीको वातावरण बनाउनुपर्छ । विदेशी लगानी ल्याउनका लागि वातावरण बनाउने काम सरकारको हो । अन्तर्राष्ट्रिय र हाम्रो छिमेकी देशमा त्यससम्बन्धमा भएका राम्रा अभ्यासहरुहरुबाट नेपालले पनि सिक्नुपर्छ । सम्मेलनहरु औपचारिकतामा मात्र सिमित हुनुहुँदैन । सम्मेलन भयो, सकियो मात्र भयो भने परिणाम आउँदैन । त्यसकारण यस्ता सम्मेलनहरुमा हस्ताक्षर भएका सम्झौताहरु र आएका लगानी प्रतिवद्धतालाई निरन्तर ‘फलो’ गर्नुपर्छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि वातावरण भएको अनुभूति दिलाउन सक्नुपर्छ । हामीसँग ‘जोइन्ट भेन्चर’ मा काम गर्न आउँछन् भने हामी तयार छौं । सरकारसँग मिलेर ठूला परियोजनामा लगानी आउँछ भने सरकारले प्रशासनिक सहजता सिर्जना गर्नुपर्छ । लगानीकर्तालाई विश्वासमा लिनसक्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५