नेपाल नयाँनयाँ संकथनमा जेलिएको छ र कुनचाहिँ तर्क र संकथन आजका लागि आवश्यक हो भन्ने कुरामा नै एकमत हुनसक्ने अवस्था देखिएको छैन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड बहुमतको सरकार छ तर राजनीतिक कुरामा अलमल छ । एकातिर विखण्डनको नारा लगाउने सिके राउत नयाँ जनमत नामक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउने भनेर मधेसको भ्रमणमा निस्किएका छन् र पहिलेको माओवादीले समेत नेकपा भएर चलाएको सरकारले पहिलेको माओवादीको एउटा भंगालो भूमिगत नेकपा विप्लव समूहले चलाएको क्रियाकलापलाई प्रतिबन्ध लगाएको अवस्था छ ।
सिके राउतको विखण्डन नीतिमा देखिएको भनिएको परिवर्तन र विप्लव समूहप्रति सरकारको लगाएको प्रतिबन्ध दुवैमा फरक फरक संकथन प्रयोग भएको पाइएको छ । धेरै विवादसँग यी दुई धारणा कसरी मुखरित होलान् भावी दिनमा ? तर्क जारी छ । आफूलाई मधेस राज्यको प्रतिनिधि मान्ने पक्ष मूलधारमा आएको मानिन्छ एकातिर भने आफूलाई राष्ट्रवादी कम्युनिष्ट मान्ने शक्ति प्रतिबन्धित हुन पुगेको छ । सरकार भन्छ, ‘विखण्डनवादी अखण्डतामा आएकोमा किन टाउको दुख्छ होला ? अनि आतङ्क मच्चाउने र चन्दा असुली गरेर दुःख दिनेलाई प्रतिबन्ध लगाउँदा किन कोकोहोलो हुन्छ ?’
यही बेलामा सबैको ध्यान बम र बन्दुकको भाषा मात्र बोलिरहेको तत्कालीन नेकपा माओवादीलाई आफू सत्तामा समेत नभएको बेलामा पनि शान्ति प्रक्रियामा ल्याएर मूलधारको संसदीय राजनीतिमा ल्याउने क्रान्ति र शान्तिका मिश्रित संवाहक गिरिजाप्रसाद कोइरालाको स्मरण हुन थालेको छ । यसो त २०६६ चैत ७ गते उहाँको निधन भएकाले यो बेला पनि उहाँलाई स्मरण गर्ने समय हँुदै हो ।
स्वर्गीय गिरिजाप्रसाद कोइराला २०४८ सालपछि बारम्बार प्रधानमन्त्री पनि हुनुभयो तर उहाँको जनतासँगको सम्बन्ध भने निरन्तर रही नै रह्यो । सबै तप्काका मानिसहरूसँग उहाँको सम्बन्ध सुमधुर नै रह्यो पछिसम्म । उहाँलाई गिरिजा दाइ वा गिरिजाबाबुले संबोधन गरिन्थ्यो । त्यसैले उहाँलाई यो स्मृतिलेखमा पनि ‘गिरिजाबाबु’ नै भनिएको छ ।
उहाँ असल संगठक हुनुहुन्थ्यो र आफ्नो मनमा लागेको कुरालाई जसरी पनि कार्यान्वयन गर्न दृृढ देखिनुहुन्थ्यो । यसका परिणामहरू सकारात्मक र नकारात्मक दुवै देखिए होलान् तर उहाँको पार्टी नेपाली कांग्रेसलाई तीन दशकसम्म जीवन्त राख्न सक्नुभयो, जुन कुरा उहाँको देहावसानपछि स्पष्ट देखिन्छ ।
गिरिजाबाबुमा एउटा दृढता थियो प्रजातन्त्र भनौँ या लोकतन्त्रका प्रति र विश्वास थियो प्रजातान्त्रिक वा लोकतान्त्रिक परिपाटीमा । उहाँले जस्तोसुकै अवस्थामा पनि लोकतन्त्रका प्रतिको आफ्नो विश्वासमा कतै आँच आउन दिनुहुन्थेन । अरू त अरू, लोकतन्त्रको विरुद्धमा तत्कालीन अवस्थामा जोजो लागे, ती सबैलाई उहाँले लोकतन्त्रका पक्षमा लाग्न प्रेरित गर्नुभयो र त्यसमा प्रतिबद्धता जनाउनसमेत मौका दिनुभयो । यसको स्पष्ट अडान २०४६ सालको संयुक्त जनआन्दोलनमा देखियो । जुनजुन आस्थामा जोजो भए पनि, जोजो लोकतन्त्रका पक्षमा देखिए वा रूपान्तरित भए, ती अहिले पनि मूलधारको राजनीतिमा लोकतान्त्रिक प्रक्रियामा देखिएका छन् । त्यसको उदाहरणमा लिन सकिन्छ त्यो बेलाको नेकपा माले, पछि गएर एमाले भयो, अनि तत्कालीन नेकपा माओवादी ।
राजतन्त्रलाई समेत लोकतन्त्रका पक्षमा लाग्न रूपान्तरित हुन मौका दिँदा आफ्नो मूढेबलका आधारमा, संविधानमा बाँधिएको भनिएको राजतन्त्र असंवैधानिक रूपमा प्रस्तुत हुँदा राजतन्त्र नेपाली राजनीतिबाट सदाका लागि बिदा भयो । तर फ्रान्समा जस्तो राजतन्त्रका पक्षधर वा राजा वा राजपरिवारलाई सखाप नगरी मुलुकको राजनीतिमा लागिरहनका लागि छुट दिनु नै गिरिजाबाबुको महान् लोकतान्त्रिक निष्ठा थियो, जसको प्रशंसा जति गरे पनि सकिँदैन । प्रजातान्त्रिक मूल्यको कसरी परिपालन हुन सकेको रहेछ भन्ने अहिले आएर स्पष्ट पनि भएको छ ।
जहाँसम्म तत्कालीन नेकपा माओवादीको प्रसङ्ग छ, उसको मान्यताविपरीत उसलाई लोकतान्त्रिक मूलधारमा ल्याउन गिरिजाबाबुले निर्वाह गर्नुभएको भूमिकाका लागि नै आजको कृतज्ञ नेपाल र नेपालीले धेरै वर्षसम्म सम्झिरहनेछन् । उहाँले सशस्त्र सेना भएको एउटा हिंसामा विश्वास गर्ने दललाई सहमति, सम्झौता र सहकार्यरूपी शान्तिपूर्ण मार्गबाट नेपाली राजनीतिमा स्थापित गर्नुभयो, जुन प्रजातान्त्रिक संस्कार थियो र प्रजातन्त्रप्रतिको अटुट आस्था र अविचलित सिद्धान्त पनि ।
गिरिजाबाबुको हक्की स्वभावका कारणले कतिपयलाई गाह्रो पनि परेको थियो होला । उहाँको लोकतन्त्रप्रतिको निष्ठाका कारणले कतिपयलाई उहाँको व्यक्तित्वलाई आफ्नो पक्षमा अनुवाद गर्न अप्ठ्यारो पनि परेको थियो होला । उहाँको लोकतन्त्रप्रतिको योगीझैँ सैद्धान्तिक तथा व्यावहारिक जीवन प्रक्रियाले कतिलाई नेपाली कांग्रेस एउटा चपाउन र पचाउन नसकिने कडा वस्तुझैँ पनि लागेको थियो होला । जीवनका उत्तराद्र्धमा उहाँमा दिनानुदिन बढ्दै गएको लोकतान्त्रिक प्रक्रियाप्रतिको आस्था र प्रयोगको झन् विस्तारित रूप नै आजको संघीय लोकतान्त्रि गणतन्त्र नेपाल हो । एउटा अचम्भ के भयो भने राजतन्त्रले समेत गणतन्त्रका पक्षमा आफूलाई सहर्ष स्वीकार गरेको र नेपाली सेनाले समेत आफूलाई गणतन्त्रको पक्षमा अनुवादित गरेको त्यो क्षण नै नेपाली राजनीतिको अनुपम समय थियो ।
वास्तवमा राष्ट्रिय मेलमिलाप त्यही थियो र समाज रूपान्तरणको एउटा अनुपम उदाहरण पनि त्यही थियो । यसमा गिरिजाबाबु नै केन्द्रीय भूमिकामा देखिनुभएको थियो । त्यो बेलामा गिरिजाबाबु नै राज्यको महत्तम कार्य सम्पादन गर्ने ठाउँमा नहुनुभएको भए ..., अनुत्तरित नै रहनेछ ।
भन्नुहुन्थ्यो, ‘महेन्द्रा राजापाक्षेले तमिल विद्रोहीविरुद्ध जुन बाटो रोजे श्रीलङ्कामा, मैले त्यो बाटो रोजिनँ । जे परिणाम आओस्, म शान्ति प्रक्रियामा माओवादीलाई ल्याएरै छाड्छु ।’
एउटा कुरामा भोलिको पुस्ताले कति विश्वास गर्ला ? यहाँ राजतन्त्र पनि थियो, यहाँ जनवादी गणतन्त्रका लागि सशस्त्र युद्धरत माओवादी पनि सेनासहित यही देशमा थियो, एउटा निहत्था व्यक्तिले सशस्त्र समूहलाई हतियार बिसाउन उत्प्रेरित ग¥यो, राजालाई गद्दी छोड्न बाध्य पा¥यो र दुवै थरीले यो प्रक्रियाको कारक तत्त्व लोकतान्त्रिक प्रणाली नै रहेको स्वीकार गरे । आफू निहत्था नै रहेर जनसेना भएका माओवादीलाई पनि लोकतन्त्रको मूलधारमा ल्याउने र नेपालको राष्ट्रिय सेना सदैव मेरा पक्षमा छन् भनी सधैँ लोकतन्त्रलाई बन्धक बनाउने राजालाई पनि लोकतन्त्रको न्यानो अभिभावकत्वमा शरण दिने दुवै काम एकै पटक भए । त्यसैले गिरिजाबाबुलाई सदैव सम्झिनुपर्छ भन्ने राजनीतिक विश्लेषकहरूको तर्क रहँदै आएको छ ।
त्यस्तो जटिलतम र संक्रमणकालको अत्यन्त तरल अवस्थामा पनि अन्तरिम संविधान ल्याउने, संविधानसभाको निर्वाचन गर्ने र मूलधारको राजनीतिमा आएको माओवादीलाई सत्ता सुम्पँदै आपूm प्रमुख प्रतिपक्षमा बसेर उसलाई बाटो देखाउने काम भएको थियो । यो एक प्रकारको किंवदन्ती हो र यस्तो काम नेपालमा सहजताका साथ गिरिजाबाबुको नेतृत्वमा सम्पन्न भएको थियो । आजको तेस्रो विश्वमा त्यस्तो नेता अहिलेचाहिँ देखिएका छैनन् । नेपालमा उहाँको कमी अहिले सबैलाई महसुस भइरहेको हुनुपर्छ ।
यो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उहाँको नेतृत्व नेपाली राजनीतिको पछिल्लो कालखण्डको कुरा हो र उहाँको जीवनको उत्तरवर्ती कालको निःस्वार्थ राजनीतिक योगदान हो । उहाँको राजनीतिक जीवनको मूल्याङ्कन गर्दा २००३ सालदेखि नै गर्नुपर्छ । विराटनगरको जुटमिलको मजदुर आन्दोलनदेखि सुरु भएको उहाँको प्रजातन्त्रको पक्षको यात्रा प्रजातन्त्रको स्थापनाको संघर्षदेखि जीवनको महायात्राको समयसम्म अनवरत रह्यो ।
लोकतन्त्र र लोकतान्त्रिक परिपाटीका लागि लडिरहने नेताको रूपमा उहाँलाई लिनुपर्छ । लामो समयसम्म नेपालको प्रधानमन्त्रीको पदमा रहँदा नेपाललाई आधुनिक युगमा लैजानका लागि गरेको योगदान पनि नेपाली इतिहासमा कोसेढुङ्गाको रूपमा लिइन्छ । शिक्षा, सञ्चार, अर्थ तथा विकासका लागि उहाँको समयलाई आधारभूत विकासको समयको रूपमा लिइन्छ र नेपाललाई विश्वको प्रतिस्पर्धात्मक आर्थिक आयाममा पहिचानसहित लिएर गएको यश उहाँलाई दिन सकिन्छ । यसमा उहाँको दल नेपाली कांग्रेस, नेपाली जनता र लोकतन्त्रप्रति आस्था राख्ने यो संसारका जो कोहीले पनि उहाँप्रति गर्व गर्न सक्छन् ।
नेपालको सामाजिक न्यायलाई राज्य सञ्चालनमा प्रवेश गराउने कोइरालाको प्रचारमा भन्दा काम गराइमा बढी ध्यान थियो भन्ने कुरा पछिसम्म पनि उदाहरणीय नै मानिन्छ ।
शान्ति, संविधान र त्यसपछिको लोकतान्त्रिक नेपालको चाहना नै गिरिजाबाबुको चाहना थियो र त्यो चाहना पूरा गर्नका लागि आपसमा एक भएर सहमतिका साथ अघि बढ्नुको कुनै विकल्प थिएन र आज पनि छैन । आज हामीले उहाँलाई सम्झने भनेको नै त्यसैप्रतिको आफ्नो आस्था एवम् विश्वासलाई पुनः ताजा गराउनु हो । उहाँप्रतिको सम्मान भनेको नै लोकतन्त्रप्रतिको आस्था र सम्मान नै हो । उहाँ बारम्बार भन्ने गर्ने हुन्थ्यो, ‘लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र मात्र हो ।’
पछिल्लो अवस्थामा उहाँप्रतिको सम्मानमा कमी देखिन्छ, उहाँको पार्टीभित्र र सरकारबाट पनि । उहाँको कर्म गर्ने तर त्यसको परिणामलाई भविष्यमा छाड्ने बानीले धेरै कुरामा नेपाल निःशर्त अगाडि बढेको थियो । भारत र चीनसँगको सम्बन्धमा उहाँको स्पष्ट धारणा भएकाले विवाद देखिएन ।
पश्चिमाहरूसँग उहाँको एउटै गुनासो थियो, उनीहरू प्रजातन्त्रको कुरा त गर्छन् तर तेस्रो विश्वमा प्रजातन्त्रलाई दिगो रूप दिन रुचि देखाउँदैनन् । उहाँको व्यक्तित्वले पनि मुलुकको श्रेय बढेको थियो, जसले गर्दा सत्तामा हुनु वा नहुनु भन्दा उहाँको धारणाप्रति अन्तर्राष्ट्रिय जगत चासो राख्थ्यो । भन्नुहुन्थ्यो, ‘महेन्द्रा राजापाक्षेले तमिल विद्रोहीविरुद्ध जुन बाटो रोजे श्रीलङ्कामा, मैले त्यो बाटो रोजिनँ । जे परिणाम आओस्, म शान्ति प्रक्रियामा माओवादीलाई ल्याएरै छाड्छु ।’
यो भनाइ राजापाक्षेले उहाँलाई निवासमै भेटेर कुरा गरेपछि सुनाउनुभएको थियो कार्यकर्ताहरूलाई ।
आज हामी नेपाली मोडेलको शान्ति प्रक्रिया भनेर जेलाई भन्छौँ, त्यही नै कोइराला मोडेल थियो, जुन संसारमै अनुपम उदाहरण मानिन्छ । त्यसैले पनि ती शान्ति नायकप्रति श्रद्धासुमन चढाउनु हाम्रो कर्तव्य हुन जान्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५