‘प्रधानमन्त्रीज्यू सन्चै हुनुहुन्छ’, करिब १० वर्षअघि बीबीसी नेपाली सेवाको कार्यक्रम साझा सवालका कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पहिलो प्रश्न सोधेका थिए । विरानगरस्थित कोइराला निवासमा गरिएको छायांकनका क्रममा कोइरालाले मुस्कुराउँदै जवाफ दिएका थिए, ‘ठीकै छु ।’
त्यतिबेला राजसंस्थाको पूर्ण रुपमा अन्त्य भएको थिएन । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएसँगै उनको राजनीतिक धपेडी मात्र होइन स्वास्थ्य पनि क्रमशः कमजोर बन्दै गएको थियो । हरेक समय चिकित्सकसहित हिड्ने तत्कालीन नेपाली काँग्रेसको सभापति काेइरालाले विराटनगरमा भनेका थिए, ‘मलाई यो थोत्रे कुर्सीमा बस्नु छैन, यो कुर्सी फेर्न पाए शान्ति मिल्ने थियो ।’
तराईमा मधेश आन्दोलन बिद्रोहका रूपमा उठ्न थालिसकेको थियो । समय अनुरुप फेरिदै गएको रंगमा कोइराला कहिले सालिन बन्थे त कहिले आक्रामक । विराटनगर आएर नै माओवादीको युवा संगठनलाई वाईसिएलदेखि लिएर छिमेकी भारतको सहयोग भए, मधेश आन्दोलनलाई तत्काल ठीक पार्नेसम्मका अभिव्यक्ति दिँदा पूर्व प्रधानमन्त्री कोइराला छिनछिनमा अखवार, रेडियो र टेलिभिजनका ताजा समाचार बन्थे ।
अमेरिकी सेनाले इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको हत्लाया गरेको थियो । त्यहि दिन साँझको समयमा प्रधानमन्त्री कोइराला गृहनगर विराटनगर आईपुगे । त्यतिबेला अहिलेको जस्तो अनलाइनको प्रभाव थिएन । बरु, एफएम रेडियोको प्रभावले सर्वसाधारणमा जरो गाडेको थियो ।
प्रधानमन्त्री विराटनगर आउँदा कि विमानस्थल वा कोइराला निवासमा सञ्चारकर्मी पुगेकै हुन्थे । त्यसदिन बीबीसी नेपाली सेवाका प्रतिनिधि टंक खनाल, अन्नपूर्ण पोष्टका शेखर रेग्मी, नेपाल वान टेलिभिजनका शम्भु भण्डारी, राससका शर्मानन्द चौधरी, नेपाल टेलिभिजनका मोहन मानन्धरसहित यो पक्तिंकार कोइराला निवास पुग्यौं । सद्दाम हुसेन मारिएको प्रसंगमा हामीले सोधेका मात्र के थियौ, उनले जवाफ दिए, ‘अरु त त्यस्तै हो, मारिचाहिँ हाल्नु हुदैन थियो ।’
कोइरालाको प्रतिक्रिया लिएसँगै हामी समाचार सम्प्रेषणका लागि हिँडिहाल्यौं । एकै छिनमा कोइराला निवासबाट टेलिफोन आयो र भनियो, ‘अरु समाचार लेख्नुहोला तर त्यो सद्दाम हुसेनको विषयमा केही नलेख्नु । त्यसले असर गर्छ रे’, गिरिजाबाबुले भन्नुभएको ।
शायद उनको त्यो अभिव्यक्ति कुटनीतिक मर्यादामा असर पर्ने भएर होला । उनले तत्काल सञ्चाकर्मीलाई आफूलाई असर पर्न सक्छ कि भनेर सचेत गराईहाले । नत्र त्यो समाचार सञ्चारमाध्यमहरुमा अर्को ब्रेकिङ समाचार बन्नसक्थ्यो ।
वयोवृद्ध नेताप्रति मात्र होइन, कोइराला निवास र कोइराला परिवारप्रति काँग्रेसी कार्यकर्ताको ठूलो लगाव थियो । कोइरालाले पनि काँग्रेससँगै काँग्रेसी कार्यकर्तालाई उत्तिकै माया गर्थे । काठमाडौंबाट विराटनगर आएका कोइराला त्यो बेलापनि प्रधानमन्त्री थिए । दिउँसो विराटनगर आएका कोइरालाले त्यो दिन केही बोलेनन् र भोलि बोल्ने बताए । साँझमा गोपालमानसिंह राजभण्डारीको फोन आयो, भोलि विहान गिरिजाबाबुले बोलाउनु भएको छ । सञ्चारकर्मी विहानै निवास पुगे, पत्रकारसँगको कुराकानी सक्कियो । उनले आफै पत्रकारलाई चिया खुवाउन आग्रह गरे । हामी चियाको चुस्किमा गिरिजाबाबुसँग जिस्कदै थियाै । एकजना महिला आफ्नो छोरीलाई लिएर त्यहाँ थिइन् । पत्रकारलाई छिचोल्दै उनले भनिन्, ‘गिरिजाबाबु यसलाई (छोरीलाई देखाउँदै) बैङ्कमा कामका लागि भनेको अहिलेसम्म भाको छैन ।’
तत्कालीन प्रधानमन्त्री कोइरालाले निधारमा हात राख्दै पुलुक्क ती महिलातिर हेरे अनि भने, ‘ए बालकृष्ण (उनको नीजि सहायक बालकृष्ण दाहाल) वहाँको कुरा बुझेर कुन बैंङ्क हो कुरा गराउ ।’ ती महिलासँग बालकृष्णले केहीबेर भलाकुसारी गरे अनि भित्रबाट कर्डलेस ल्याएर फोन लगाउँदै कोइरालालाई दिए । कोइराला धेरै बोलेनन् र भने, ‘वहाँको काम गरिदिनु ।’
सधैंभरि कोइरालाका अभिव्यक्ति सञ्चारमाध्यमका लागि ब्रेकिङ न्युज बन्ने गर्थ्याे । उनी काठमाडाैंमा बिरलै सञ्चारमाध्यमलाई अभिव्यक्ति दिन्थे । त्यस्तो केही बोल्नु परेमा विराटनगर आउने कोइराला विराटनगरको सञ्चारकर्मीसँग धेरै निकट थिए । थोरै तथा सटिक बोल्ने कोइराला एकैसाथ धेरै प्रश्नको जवाफ दिन सक्थे । अझ रोचक कुरा त के छ भने, उनी कुन सञ्चारमाध्यम हो बोल्ने कि न बोल्ने तौलेर मात्र अभिव्यक्ति दिन्थे । अझ बीबीसी नेपाली सेवाको लोगोसहितको बुम देख्ता त उनी हौसिएर बोल्थे ।
देशको चारपटक प्रधानमन्त्री भएका कोइरालाको २०६६ साल चैत्र ७ गते ८५ बर्षको उमेरमा निधन भयो । छोरी सुजता कोइरालाको घरमा उनको चैत्र ७ गते १२ बजेर १० मिनेटमा निधन भएको थियो ।
...
हरेक दिन राजनीतिक चहलपहल हुने कोइराला निवास शक्तिको एक केन्द्र थियो । जतिबेलासम्म काँग्रेसको नेतृत्व मात्र नभएर सत्ताको बागडोर कोइराला परिवारको हुन्थ्यो । त्यो बेलासम्म कोइराला निवासको रौनक नै बेग्लै थियो । यो रौनकलाई लामो समयसम्म काँग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाको भाउजु नोना कोइरालाले जगाएकी थिइन् । उनको देहवसान पश्चातपनि निवासमा आश्रय लिएर बसेकी उमा शर्माले धानिन् । तर शर्माको निधन पश्चात अहिले कोइराला निवास शान्त छ, सुनसान छ ।
कोइराला निवासले आर्दश र प्रेम मात्र होइन्, सद्भाव र परम्परापनि धानेको थियो । कोइराला निवासमा पुग्ने जो कोहीपनि पाहुना हुन्थे, एक गिलास पानी मात्र भएपनि खाएर फर्कन्थे । तर अहिले सुनसान बनेको कोइराला निवासमा भित्तामा टागिएका तस्वीर, विभिन्न ऐतिहासिक दस्तावेज लगायतका सामाग्री इतिहास बनेका छन् । केही बर्ष अघिसम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले प्रयोग गर्ने सामाग्रीपनि अब इतिहास बनेको छ ।
कोइराला निवासको स्वदेशमा मात्र होइन् । अन्य देशका लागि पनि उत्तिकै योगदान छ । भारतका चर्चित साहित्यकार फणिश्वर नाथ रेड्डीले यही निवासको आश्रयमा एसएलसीसम्मको अध्ययन गरे । विश्वेश्वर कोइराला अर्थात वीपी कोइरालाले लामो समयसम्म दार्जिलिङमा वकालत गरे ।
२००७ सालको क्रान्तिमा स्वदेश फर्किएका वीपी सोही समय जेल परे । सिन्धुलीका दुम्जेबाट बसाँई सरेका पिताजीले मात्र विराटनगरको लागि सोचेनन्, देश र जनताको हितमा आफ्नो उर्वर समयलाई सदुपयोग गरे । उनका सन्ततिले उनैको बाटो रोजे तर पछिल्लो पुस्ताले आफ्नै पुर्खाले योगदानलाइ बिर्सिए । गिरिजाप्रसाद, शैलजा आचार्य र नोना कोइरालाको स्मृतिग्रन्थ समेत लेखिसकेका साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदी कोइराला निवासको अस्तित्व ओझेलमा परेको बताउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला यसको संरक्षणका लागि केही प्रयन्त्न भएको बताँउछन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ गर्ने पिताजी कृष्णप्रसाद कोइरालाले जोडेको यो निवास आउने भावी पिढीका लागि अनुसन्धानका लागि केन्द्र बन्न सक्छ । अहिले यो भवनमा भएका सामाग्री कालान्तरमा गएर एकादेशको कथा बन्न सक्छ । जीवित रहेका पिताजी कृष्णप्रसादका सन्तति अहिले पनि देशको राजनीतिको केन्द्र भागमा छन् । देशले समेत कोइराला परिवारको इतिहासलाई बिर्सेको छैन । यो अवस्थामा परिवारले जोगाएका जे जति सम्पत्ति छ, त्यसलाई संरक्षण र प्रर्बद्धन गर्नुपर्ने अवस्था छ । सोही परिवारको सद्भाव र आर्शिवाद पाएर धेरैले सत्ताको स्वाद चाखेका छन् । उनीहरुले समेत जिउँदो इतिहास बनेको निवासको गरिमालाई जोगाउनु आबश्यक छ । होइन भने यो निवासको इतिहास जोगिन सक्दैन ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५