विराटनगर: बुधबार उपत्यकासहित पहाडी जिल्लामा धुमधामका साथ होली पर्व मनाइयो । कतै सांगितिक कार्यक्रम त कतै रंगसहित मदिरामा लठ्ठिएर होलीको रौनकतामा रमाउने धेरै थिए । तराईका जिल्लामा भने आज मात्र होली पर्व मनाइदै छ । तर विराटनगरमा भने बुधबार नै होली उल्लासमय तवरले मनाइएको थियो । त्यो पनि पृथक शैलीमा ।
होली भन्ने बित्तिकै हामीलाई रंग मात्र होइन, गाँजा, भाङ् अनि मदिरालाई पनि बुझ्ने गरेका छौ । होलीमा नशामा लठ्ठिएर रमाइलो गर्ने पनि धेरै छन् । तर विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा भने नशारहित होलीको अभियानलाई जोड दिइएको छ ।
विराटगरको गुद्री बजारमा आयोजित होली कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे मात्र होइन, चर्चित कलाकार नथा निर्देशक दीपाश्री निरौलाले समेत नशारहित जीवन पनि सुन्दर रहेको सन्देश दिएका थिए । लागु औषध तथा पुर्नस्थापना केन्द्रहरुको सञ्जालमा आयोजनामा भएको कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राईले नशारहित होली खेल्ने परम्पराले सभ्य नेपालको परिचय दिएको बताए । उनले यो संस्कारलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अपराधिक कार्यको प्रमुख जड नशा नै भएकाले नशाको बिरोध गर्दै अपराधिक कार्यको बिरोध गर्नुपर्ने बताए । कार्यक्रममा आफ्नो प्रस्तुति दिदै चर्चित कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफु विराटनगर आएर होली मनाउनुको मज्जा बेग्लै भएको बताइन् । कार्यक्रममा गायक सुमित खड्का, हाँस्य कलाकार पारस थापा लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
होली कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै रंग खेलेर होली मनाइएको थियो । रिकभरिङ नेपालका उपाध्यक्ष दीपक चापागाईले समाजमा सकारात्मक सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५