सरस्वती प्रतीक्षा
होलीको धार्मिक, सांस्कृतिक पक्ष आफ्नो ठाउँमा छ तर यसको सामाजिक पक्ष महत्तवपूर्ण छ जस्तो लाग्छ । रङहरूको पर्व भएकाले आफैँमा यो रमाइलो त छँदै छ यस पर्वमा साथीभाइ, आफन्तसँग आपसमा रङ खेलेर गरिने मनोरंजन अझ महत्त्वपूर्ण छ ।
म थकाली परिवारकी भएकाले हाम्रो समुदायमा होलीलाई विशेष पर्वका रूपमा मनाउने गरिन्छ । बच्चादेखि नै परिवार र मेरो समुदायमा यस पर्वमा विशेष चाडको अनुभूति हुने गरेको हो । म रङ खेल्न रुति राख्दिनँ तर अरूले खेलेको एकदमै रमाइलो लाग्छ । अर्को कुरा आफन्त र साथीभाइ भेला भएर विभिन्न परिकार बनाएर खाने खुवाउने परंपरा यसको महत्त्वपूर्ण पक्ष जस्तो लाग्छ ।
विशेषगरी होलीले प्रेम र सद्भाव वृद्धि गर्छ । आपसी मेल र समझदारी बढाउँछ र यो धार्मिक, सांस्कृतिकभन्दा बढी सामाजिक महत्त्वको पर्व हो भन्ने लाग्छ ।
सीमा आभास
होली विगतमा धार्मिक, सांस्कृतिक हिसाबले मनाइने गरिन्थ्यो । आज यसको स्वरूप र होलीप्रतिको आमबुझाइमा पनि परिवर्तन आइरहेको छ । यो पर्व आज हिन्दुको मात्र नभएर सबै जातजाति, समुदाय र धर्म संस्कृतिका मानिसको साझा पर्व बन्दै गएको छ, जुन राम्रो पक्ष हो ।
हिमाल, पहाड, तराई सबैतिर होली मनाइन्छ । सबै जात, समुदाय र धर्ममा आस्था राख्नेले आपसमा भाइचारा र सद्भाव बढाउने पर्वका रूपमा यसलाई मनाउन थालेका छन् ।
नयाँनयाँ शैलीले चाड पर्व मनाउने नेपालीको स्वभाव देखिन्छ । होलीलाई पनि आआफ्नै शैलीले मनाउने गरिएको छ । हिमालमा, पहाडमा र तराईमा जहाँ पनि होली रङ एकआपसमा दलेर मनाइने गरिएको छ तर खानपिनलगायतका कुरामा आआफ्नै परिवेश र रुचिअनुसार गर्ने गरिएको छ ।
जहाँसम्म यस पर्वमा गाँजा, भाङ र जाँड रक्सीको प्रयोगले विकृति बढायो भन्ने कुरा छ, यो सापेक्ष कुरा हो । कसले के कसरी मनाउँछ भन्ने उसको कुरा हो तर रमाइलो गर्ने हो, मनोरंजन गर्ने हो । गाँजा, भाङ, रक्सी त अरू बेला पनि मानिसले खाइरहेकै छन् । होलीमा खाँदा मात्र विकृति भनने हुँदैन । यो सामान्य कुरा हो ।
म पहाडबाट तराई झरेकी र अहिले तराईमै रहेकी हुँदा मसँग पहाड र तराई दुवैतिरको सामाजिक, सांस्कृतिक मिश्रण छ । म तराईमा हुँदा तराईकै अनुसार चाड पर्व मनाउँछु । होली पनि यहीँको अनुसार मनाउँछु ।
तराईको होलीको भिन्नै स्वाद हुन्छ । न पहाडे, न मधेसी, न हिन्दु, न मुस्लिम वा अन्य, सबै मिलेर रमाइलो गरी होली मनाइन्छ तराईमा । मीठामीठा परिकार बनाएर एकापसमा मिलेर बाँडेर खाने गरिन्छ । यो मज्जाको बयान गर्न सकिन्न ।
उमा सुवेदी
विशेषगरी हिन्दुहरूको एउटा महत्त्वपूर्ण पर्व हो होली । होलीलाई आज केही विकृत बनाइँदै छ कि भन्ने आभास हुन्छ । नशालु र मादक पदार्थको बढी प्रयोगले आपराधिक कार्यमा वृद्धि हुनसक्छ । यसलाई नियन्त्रण गर्ने हो भने होली हाम्रो मौलिक सांस्कृतिक–सामाजिक पर्व हो । यसलाई सही रूपमा मनाएर हाम्रो सांस्कृतिक–सामाजिक संपदाको संवद्र्धन र संरक्षण गर्न जरुरी छ ।
रङहरू खेलेर मनाइने हुँदा होलीको रौनक नै अर्कै लाग्छ । आपसमा भेटघाट गरी रमाइलोसँग मनाउँदा होलीले सामाजिक सद्भावमा सहयोग नै गर्छ ।
होलीको अर्को नराम्रो पक्ष छ, जुन हाम्रो प्रवृत्तिका कारण भएको हो भन्ने लाग्छ । यस पर्वमा विशेषगरी महिलामाथि प्रत्यक्ष–परोक्ष दुव्र्यवहार हुने गरेको छ । रङ दल्ने बहानामा महिलामाथि अनेक प्रकारका नराम्रा व्यवहार हुन्छन् । यसले सद्भाव बढाउनेभन्दा बिगार्ने हुन्छ । यसकारण यस्ता विकृत पक्षलाई हटाएर साँच्चै रमाइलो र सद्भावपूर्ण ढंगले होली मनाउनुमा निकै आनन्द हुन्छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५