विराटनगर । पाँचौं संस्करणको दक्षिण एशियाली महिला फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) मा नेपालमा फाइनलमा प्रवेश गरेको छ । आज विहान विराटनगरको शहिद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
भुटान र बंङ्लादेशलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रिको थियो । शुरुवातबाट नै आक्रमक रणनीति बनाएको नेपालले पूर्वाधमा केही सुन्दर मौकाहरु गुमाएको थियो । पूर्वाधको ३० मिनेटमा नेपालका सावित्रा भण्डारीले राम्रो अवसर गुमाइन् । त्यस्तै ३३ मिनेटमा गीता राणाको हेडिङलाई पनि श्रीलंकाको गोलरक्षक आयोमि बिजयारत्नेले राम्रो बचाउ गरिन् ।
लगातारको आक्रमणलाई निष्तेज बनाउँदै उत्कृष्ट प्रर्दशन गरेकी श्रीलंकन गोलरक्षक बिजयारत्नेले पूर्वाधको ४१ मिनेटमा भने नेपालको पुनम जर्घा मगरको प्रहारलाई रोक्न सकिनन् । गीता राणाले प्रहार गरेको फ्रि किकमा कप्तान निरु थापाले मिलाएको पासलाई सावित्रा भण्डारीको हेडिङले गति लिएन् । यद्धनि अनमार्कमा रहेकी नेपाली डिफेन्डर पुनम जर्घा मगरले ‘सफ्ट लेफ्ट टच’बाट बलले जाली चुमेपछि नेपालले एक गोलको अग्रता लियो ।
उत्तरार्धको ६० मिनेटमा नेपाल सुन्दर अवसर गुमायो । अनिता बस्नेतको लामो प्रहारलाई श्रीलंकाको गोलरक्षक आयोमि बिजयारत्नेले पन्च गर्दै बाहिर पठाईदिएकी थिइन् । नेपालले गोल अन्तरलाई दोब्बर बनाउन पटक पटक प्रयास गरेको थियो । तर निक्कै रक्षात्मक खेल खेलेको श्रीलंकाले एकपछि अर्को गर्दै बचाउ गरेको थियो । नेपालले दोश्रो गोल उत्तरार्धको ७२ मिनेटमा गर्यो । दुईजना श्रीलंकन खेलाडीको बीचबाट रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै अनिता बस्नेतले गोल गर्दै नेपाललाई २ – ० को अग्रता दिलाइन् ।
नेपालले खेलको ८१ मिनेटमा अर्को गोल थप्यो । खेलमा आफ्नो ब्याक्तिगत तेश्रो तथा प्रतियोगिता कै सर्वाधिक गोल गर्दै ‘साम्बा’ उपनामले परिचित सावित्रा भण्डारीले गोल गरिन् । उत्कृष्ट हेडिङ गर्दै गोल गर्दा नेपाल ३ – ० को स्थितिमा पुगेको थियो । अर्को गोल भने रेखा पौडेलले खेलको ८५ मिनेटमा गरिन् । खेल जीवनको पहिलो अन्तराष्ट्रिय गोल गर्दै अफ साइड ट्यापलाई विट गर्दै नेपाललाई चार गोलको अग्रता दिलाइन् ।
खेलको अन्त्यतिर श्रीलंकाले पाएको कर्नर किकलाई नेपालकी खेलाडी अनिता बस्नेतले क्लियर गर्दा नेपाली गोलरक्षक एन्जिला सुब्बा फुर्सदिलो बन्नु परेको थियो । नेपालले उपाधिका लागि शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५