काठमाडौं ः सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एसिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।
एसिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेसियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।
एसिया छनोटबाट शीर्ष २ टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५