भोजपुर ः पूर्वी पहाडी जिल्ला भोजपुरबाट चल्ने सवारी साधन चालकको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ । ट्राफिक प्रहरी र जिल्ला अस्पताल भोजपुरको समन्वयमा सवारी चालकहरूको स्वास्थ्य परिक्षण गरिएको हो । सो क्रममा बस, ट्याक्टर र ट्रकका चालकको स्वास्थ्य परीक्षण गरिएको छ ।
अस्वस्थ्यका कारण पनि दुर्घटना हुन सक्ने भन्दै भोजपुर नगरपालिका-९ को पानीट्याङकीमा ट्राफिक प्रहरी कार्यालय भोजपुर र जिल्ला अस्पताल भोजपुरको समन्वयमा सवारी चालकहरूको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जनाइएको छ ।
सवारी चालकहरूको आँखा परीक्षणका साथै प्रेसर जाँचलगायतको परीक्षण सेवामा जिल्ला अस्पतालका डा. किरण तामाङ खटिएको ट्राफिक प्रहरी कार्यालय भोजपुरमा कार्यरत हवल्दार मोहनप्रसाद न्यौपानेले बताए ।
बस, ट्याक्टर र ट्रक गरी ४३ जना सवारी चालकलको आँखा र प्रेसर चेक गरेको न्यौपानेले बताए । पछिल्लो समय सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लामा ट्राफिक प्रहरी कार्यालयले १५ दिने महाअभियानसमेत सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५